नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले निगमको पछिल्लो निर्णयसँगै तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए ।
निगम सन्चालक समितिको बिहीबार राति बसेको बैठकले पेट्रोलियम पदार्थ बिक्री–वितरणका सम्बन्धमा हाल दिँदै आएको प्राविधिक नोक्सानीको परिमाणमा अन्तरिम प्रयोजनको लागि भन्दै वृद्धि गरेको हो ।
निगमले प्रतिचार हजार लिटर पेट्रोलमा १० लिटर र डिजेलमा २ लिटर सिंक्रेज लसको परिमाण बढाइदिएको हो ।
अब व्यवसायीले प्रतिचार हजार लिटर पेट्रोलमा ४५ लिटर नोक्सानीबापत क्षतिपूर्ति पाउने भएका छन् । यसअघि, व्यवसायीले चार हजार लिटर पेट्रोलमा ३५ लिटरमात्रै क्षतिपूर्ति पाउँथे ।
यस्तै, डिजेलमा चार हजार लिटरमा २७ लिटर नोक्सानीबापतको क्षतिपूर्ति पाउने भएका छन् । यसअघि, चार हजार लिटरमा २५ लिटरमात्रै क्षतिपूर्ति पाउँदै आएका थिए ।
निगमले उपभोक्तालाई कुनै आर्थिक व्ययभार नपर्ने गरी सिंक्रेज लसको परिमाण थप गर्ने निर्णय भएको जनाएको छ ।
व्यवसायीहरुले क्षतिपूर्तिको परिमाण बढाउनुपर्ने माग राख्दै हड्ताल गर्दै आएका थिए ।
यसले गर्दा केही दिनदेखि राजधानीलगायत मुलुकका विभिन्न भागमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्