
डीबी विष्ट
बझाङ, माघ ९ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुखलाई महिलाहरुले मदिरा बन्द गर्न सकिन नसकेको भनेर गुनासो गरेका छन् । तल्कोट गाउँपालिका–१का महिलाले जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रविण धिताललाई ‘मदिरा बन्द गर्न किन सक्नुहुन्न ?’ भन्दै प्रश्न गरेका हुन् ।
महिला हिंसा न्यु्निकरण तथा लैङ्गिक हिंसाका सवालमा महिलाहरुलाई सशक्तिकरण गर्ने उद्देश्यले वडा नम्बर १ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिलाहरुले आफुमाथि हुने हिंसाको प्रमुख कारण मदिरा भएको गुनासो गरे ।
स्थानीय पार्वतीदेवी सुनारले आफुमाथि हिंसा हुनुको प्रमुख कारण मदिरा भएकाले यसलाई नियन्त्रण गर्न सके आफु र छोराछोरी माथि हुने हिंसा कम हुने बताइन् ।
यस्तै कल्पना बलले महिला हिंसाको प्रमुख कारण मदिरा भएकाले यसलाई बन्द गर्न नसकेकोमा प्रहरी प्रशासनप्रति आक्रोस व्यक्त गरिन् । अवैध मदिरा जताततै पाईने र लाईसेन्स प्राप्त ब्यक्तिहरुले दुई/तीन ठाउँमा पसल सञ्चालन गरेर नियम विपरित बिक्री वितरण गर्दै आएको उनको भनाइ छ ।
प्रहरी नायव उपरीक्षक धितालले मदिराका बारे अहिलेसम्म कसैले पनि जानकारी नगराएका कारण थाहा नभएको बताए । अब तुरुन्तै एक्सनमा गएर अवैध र गैरकानुनी रुपमा मदिरा विक्री वितरण गर्ने ब्यक्तिलाई कानुनी कारवाही गर्ने उनले बताए ।
उनले महिलालाई हिंसा सहेर नबस्न अनुरोधसमेत गरे । उनले बालविवाह, लैङ्गिक हिंसा, बुहविवाह लगायतका विषयमा महिलाहरुलाई नयाँ कानुनका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्