२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


नेपालमै छन् क्षमतावान कुकुरः कसरी पत्ता लगाउँछ कुकुरले अपराधी ? (भिडियो)


0
Shares

-गृष्मा राजभण्डारी र नवीन स्थापित(ईमेज)

काठमाडौं । कुकुर मानिसप्रति बफादार जनावरको रुपमा चिनिन्छ । प्राचिन कालदेखि मानिसको जीवनमा अभिन्न अंगको रुपमा रहँदै आएको कुकुरको आफ्नै महत्व र बिशेषता छ ।

सुरक्षाकर्मीले अनुसन्धानका लागि कुकुरको प्रयोग गर्दै आएका छन् । तालिम प्राप्त कुकुर अनुसन्धानमा निकै उपयोगी मानिन्छ ।

घरको रक्षा गर्न होस वा देशमा परेका आपतकालीन घटनाहरुको अवस्थामा वा कुनै सभा समारोह जुनसुकै स्थितिमा पनि उत्तिकै काम लाग्ने गर्दछ कुकुर ।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार अपराध अनुसन्धानमा प्रयोग गर्ने उद्देश्यले नेपाल प्रहरीले पनि २०२६ सालमा दुईवटा कुकुरलाई तालिम दिई अनुुसन्धानमा प्रयोग गर्न थालेको थियो ।

दुईवटा कुकुरबाट भएको त्यो शुरुवाता अहिले भने बिस्तार भई केन्द्रिय कुकुर तालीम केन्द्र स्कूलसम्म आईपुगेको छ ।

जहाँ ५९ वटा बिभिन्न जातका तालिम प्राप्त कुकुर रहेका छन् । बिश्वमा अनुसन्धानका लागि कहलिएका ८ जातका कुकुर नेपाल प्रहरीले पनि प्रयोगमा ल्याएको सो तालीम केन्द्रका प्रमुख एसएसपी डा देउती गुरुङले बताइन ।

बिशेष गरी अपराधी पत्ता लगाउन, लागू औषध बरामद गर्न, बिस्फोटक पदार्थकोे पहिचान गर्न छुट्टाछुट्टै खालको तालिम दिने गरिन्छ ।

बेलारुसबाट सात लाख रुपैयाँमा खरिद गरिएको जोली नामको ब्लड हाउन्ड प्रजातीको कुुकुरले बिशेष गरी अपराधी पत्ता लगाउने गरेको छ ।

घटनास्थलामा रहेको अपराधीको कुनै पनि बस्तुको गन्धको आधारमा अपराधी पत्ता लगाउने काम यसले गर्दछ । अरु रोचक त के छ भने यसले अपराधीको पहिचान गरेपछी नजिक बसेर भुक्ने गर्दछ ।

त्यति मात्र होइन अन्य कुकुरहरुले कुनै पनि घटना भएको ३६ घण्टा भित्रमा आपाराधिक गतिबिधीको अनुसन्धानमा सहयोग गर्ने गरेकोमा ब्लड हाउण्ड प्रजातीको यो कुकुरले भने ९६ घण्टा अघिससम्मका घटनाको अनुसन्धान गर्न सक्ने क्षमता राख्दछ ।

लागू औषध बरामद गर्न प्रयोग गरिने सेफर्ड जातको कुकुर भारत सरकारले उपहार दिएको हो ।

कुनै पनि आदेशको पालना गर्ने गरेको यो कुकुरले लागू औषध रहेको ठाउँको पहिचान भएपछी यसरी संकेत गर्ने गर्दछ ।

नेपाल प्रहरीले २ लाख ५० हजारमा खरिद गरी बिस्फोट पदार्थको बिशेषज्ञको रुपमा तालीम दिएको ल्याब्रडोर जातको यो कुकुर बिस्फोट पदार्थ भएको स्थानमा पुगेपछी थचक्क बस्ने गर्दछ ।

कुकुरलाई अनुसन्धानका क्रममा तालिम दिन निकै नै कठिन हुने भनाई प्रहरी निरीक्षक रामचन्द्र सत्यालको भनाई छ ।

सानैबाट तालिम दिन शुरु गरिने यी कुकुरहरुलाई अनुसन्धानका लागि प्रयोग गर्नु अघी युनिफर्म हार्मेस लगाईदिएपछि कुकुरले आफू ड्युटीमा रहेको ठानेर सोही अनुसार काम गर्ने गर्दछन् ।

यस्ता कुकुरहरुले अपराध अनुसन्धानमा सहयोग गरेर मानिसलाई सुरक्षित जीवन यापनका लागि पुर्याउने योगदान कम महत्वपूर्ण छैन ।