
काठमाडौं, माघ ८ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक उच्च प्राथमिकता साथ अनुसन्धान गरिरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनले पन्तको हत्याको अनुसन्धानमा प्रहरीलाई कुनै दबाब नआएकाले चाँडै दोषी पत्ता लाग्ने विश्वास व्यक्त गरे ।
‘नेपाल प्रहरीलाई निर्मला हत्याको दोषीलाई सार्वजनिक गर्न हतार छ’–उनले भने ।
उनले समाजमा पेशेवर अपराध, गुन्डागर्दी, प्राकृतिक स्रोत–साधन दोहन गर्ने समूह घटेपनि सामाजिक विकृतिका घटना बढेको बताए ।
प्रवक्ता सुवेदीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन ७४७ स्थानीय तहमा समझदारी भइसकेको र १० हजार विभिन्न समिति निर्माण भइसकेका स्पस्ट पारे ।
उनले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सन्चालन गरेपछि एक हजार १५० फरार अपराधी पत्ता लाग्नुका साथै १५० थान अवैध हातहतियार बरामद गरिएको बताए ।
प्रहरीले बलात्कारका घटनामा ९७ प्रतिशतसम्म सफल अनुसन्धान गरिसकेको उनको भनाइ छ ।
प्रवक्ता सुवेदीले रामबहादुर बम्जनको आश्रमबाट पाँचजना बेपत्ता भएको घटनाबारे प्रहरीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताए ।
उनले ३३ किलो सुन प्रकरणपछि अवैध सुन समात्नेक्रम बढेको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्