२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


५६ सचिवको समायोजन


0
Shares

काठमाडौं, माघ ८ । सरकारले विशिष्ट श्रेणीका ५६ जना सचिवको समायोजन गरेको छ ।

‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार विशिष्ट श्रेणीका ती सचिवको संघमा समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिइन् ।

उनकाअनुसार ज्येष्ठताका आधारमा ती सचिवलाई मुख्यसचिव लोकदर्शन रेग्मीले समायोजनको पत्र दिएका हुन् ।

केही दिनअघिमात्र मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई समायोजन रोजेका सचिवको पत्र स्वीकृतिका लागि पठाएको थियो ।

मन्त्रालयले पठाएको आधारमा मन्त्रिपरिषदले ती सचिवको समायोजनपत्र स्वीकृत गरी समायोजन गरेको हो ।

यसैगरी, मन्त्रालयले तीनै तहमा सहसचिवको समायोजनका लागि पत्र तयार पारेको छ ।

उनकाअनुसार समायोजन रोजेका करिब ६०० सहसचिवको समायोजन स्वीकृत गर्न मन्त्रिपरिषद कार्यालयमा पत्र पठाउन लागिएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती सहसचिवलाई मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समायोजनको पत्र दिनेछन् ।

कर्मचारीले गत पुस ११ देखि माघ २ गतेसम्म तीनै तहमा समायोजन रोज्न अनलाइन फाराम भरेका थिए ।

यसैगरी, संघमामात्र सेवा समूह रहेकाको समायोजनको प्रक्रियासमेत सुरु गरिएको उपसचिव निरौलाले बताइन् ।

उनकाअनुसार संघमामात्र सेवा समूह रहेका परराष्ट्र, न्याय र महालेखा परीक्षक सेवा समूहको समायोजनको प्रक्रिया प्रारम्भ भएको छ ।

सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । रासस