काठमाडौं, माघ ८ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले प्रदान गर्ने वर्षका तीनओटै अवार्ड जितेर कीर्तिमान रचेका छन् ।
अहिलेसम्म कुनैपनि खेलाडीले राख्न नसकेको कीर्तिमान राख्नेक्रममा कोहलीले पुरुष क्रिकेट वर्ष खेलाडीका लागि ‘सर गरफिल्ड सोबर्स अवार्ड’, एकदिवसीय क्रिकेट वर्ष खेलाडी र टेस्ट क्रिकेट वर्ष खेलाडीको पुरस्कार जित्न सफल भएका हुन् ।
आइसीसीले वार्षिकरुपमा दिने तीनओटा अवार्डमा ‘क्लिन स्वीप’ गरेर कोहलीले कीर्तिमान राखेका हुन् ।
उनी आइसीसीको एकदिवसीय र टेस्ट टिमका कप्तान पनि चुनिएका छन् ।
कोहलीले सन् २०१८ मा १३ टेस्ट खेलमा ५५.०८ को औसतमा एक हजार ३२२ रन बनाए भने १४ एकदिवसीयमा १३३.५५ को औसतमा एक हजार २०२ रन बनाए ।
कोहलीले सन् २०१८ मा १० ओटा ट्वेन्टी–२० मा २११ रन बनाएका थिए ।
भारतका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त ‘इमर्जिङ क्रिकेटर’ बन्न सफल भएका छन् ।
यस्तै, अष्ट्रेलियाका आरोन फिन्च ‘ट्वेन्टी–२० पर्फर्मेन्स अफ दी इअर’, न्यूजिल्यान्डका केन विलियमसनले ‘स्पिरिट अफ क्रिकेट’ र स्कटल्यान्डका क्यालम म्याकलायड ‘एसोसिएट क्रिकेटर’ घोषित भएका छन् ।
त्यसैगरी, श्रीलंकाका कुमार धर्मसेना ‘अम्पायर अफ दी इअर’ बन्न सफल भएका छन् ।








प्रतिक्रिया दिनुहोस्