Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


एमालेद्वारा ‘प्राकृतिक विपत्ति राहत कोष’ स्थापना


0
Shares

एमाले केन्द्रीय सचिवालयको सोमबारको बैठकले कृषि विकास बैंक, कालीमाटी शाखामा रहेको ०२१०३००७१७९१७ खाता नम्बरमा रकम संकलन गर्ने निर्णय गरेको हो ।

बैठकले केही दिनदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षापछि आएको बाढी–पहिरो तथा डुबानका कारण सयौंले जीवन गुमाउनुपरेकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

बाढीमा परी बेपत्ताको शीघ्र खोजी गर्न तथा घाइतेको उपचारको व्यवस्था गर्न बैठकले सरकारसमक्ष माग गरेको छ ।

बैठकले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा केन्द्रीय उद्धार, राहत तथा पुनःस्थापना समिति स्थापना गर्ने निर्णय गरेको छ ।

समितिमा केन्द्रीय सचिवालय सदस्य, प्रभावित जिल्लाका पार्टी, मोर्चा संगठन, सम्पर्क कमिटी र मञ्च तथा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिलाई समावेश गरिनेछ ।

बैठकले बाढी–पहिरो र डुबानबाट मृत्यु भएकाका परिवारलाई प्रतिमृतक रु पाँच लाख सहयोग उपलब्ध गराउन तथा तत्काल आवास तथा अन्य राहतका लागि प्रतिपरिवार रु एक लाख सहयोग उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।

बाढी–पहिरो र डुबानबाट आवास गुमाएका जनताका लागि तत्काल आवास निर्माण गर्न रु तीन लाख अनुदानका साथै रु तीन लाख निव्र्याजी ऋण प्रदान गर्ने व्यवस्था गर्न पनि सरकारसमक्ष माग गरिएको छ ।

बैठकले राज्य, निजी क्षेत्र र अन्य विभिन्न पक्षबाट सन्चालन भएका उद्धार, राहत तथा पुनःनिर्माणका कामको अनुगमनका लागि ‘उच्चस्तरीय संसदीय अनुगमन समिति’ गठन गर्न सरकारसमक्ष आग्रह गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग योगेश भट्टराईले जानकारी दिए । रासस