
दीपक श्रेष्ठ र सानु माली (इमेज)
भक्तपुर, माघ ८ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेक्रम तीव्ररुपमा बढेको छ ।
सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिले निजी आवास बनाउने गरेका छन् भने कतिपयले अन्य प्रयोजनमासमेत प्रयोग गर्ने गरेका छन् ।
पछिल्लो समयमा भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा पनि सार्वजनिक जग्गामा व्यक्तिले निजी आवास बनाएको खुलासा भएको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर–७ स्थित धुन्छेपाखामा सार्वजनिक जग्गामै व्यक्तिले निजी घर बनाएको खुलासा भएको हो ।
२५ वर्षअघि करिब ७ आना सरकारी जग्गा कब्जा गरेर छाप्रो बनाएर बस्दै आएकी विनु तामाङले अहिले सोही ठाउँमा पक्की भवन निर्माण गरिरहेकी छन् । उनले नगरपालिकाबाट नक्सासमेत पास गराएकी छैनन् ।
सार्वजनिक जग्गा हडपेर निजी घर निर्माण गरेपछि स्थानीयले विरोध गर्दै नगरपालिका र वडा कार्यालयमा विरोध गरेका छन् ।
संघर्ष समितिका अध्यक्ष सुरेश पौडेलले सार्वजनिक जग्गाको संरक्षण गर्न माग गर्दै स्थानीयवासीका तर्फबाट सामूहिक उजुरी दर्ता गराइएको बताए ।
मध्यपुर थिमि नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले घर निर्माणको काम तत्काल रोक्न निर्देशन दिइसकेको बताए ।
सार्वजनिक जग्गामा एउटा किरियापुत्री भवन र एउटा सन्यासी ढुंगेधारा पनि छ ।
त्यस्तै, धुन्छेपाखामै रहेको मल्लकालीन ऐतिहासिक बाघधारा कुवा र कुवामा जान प्रयोग हुने बाटोसमेत पुरिएको छ । स्थानीयले सो कुवा र बाटो पनि संरक्षण गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्