Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


खोटाङमा पाँच दिनदेखि विद्युत् अवरुद्ध, पत्रिका, रेडियोहरु बन्द


0
Shares

जिल्लाका दुई नगरपालिका र ६ भन्दा बढी गाउँपालिकाका स्थानीयवासीहरु प्रत्यक्ष मारमा परेका छन् ।

विद्युत् अवरुद्ध हुँदा खोटाङबाट हरेक शुक्रबार प्रकाशित हुँदैआएको हलेसी साप्ताहिक, आइतबार प्रकाशित हुँदैआएको रुपाकोट साप्ताहिक र हरेक सोमबार प्रकाशित हुँदैआएको खोटाङखबर साप्ताहिक पत्रिका प्रकाशन हुन सकेका छैनन् ।

विद्युत्को अभावमा जिल्लाका हलेसी एफएम र रुपाकोट एफएमको प्रसारणसमेत बन्द भएको छ । विद्युत् अवरुद्ध भएका कारण जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको दैनिकी कामकाज ठप्प भएको छ ।

उदयपुरको तिर्जुगा खोलामा आएको बाढीले खोलामा भएको ८ ओटा पोलमध्ये चारओटा पोल बगाएको र दुईओटा पोल बंग्याएका कारण विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकारण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

आवश्यक विद्युत्को पोल खरिद गरेर खोलामा तीनओटा पोल राख्ने काम सकिएको र अरु पनि राख्ने काम धमाधम भइरहेको जनाइएको छ ।

विद्युत् अवरुद्ध भएका कारण नेपाल टेलिकम दिक्तेलको कार्यालय परिसरमा मोबाइल, ल्यापटप, टर्चलाइटलगायतका दैनिक प्रयोग गरिने विद्युतीय उपकरणहरु चार्ज गर्न आउनेको भीड लागेको छ ।