२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


संसद बैठकको कार्यसूचीः राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्राथमिकतामा


0
Shares

काठमाडौं । सरकारले प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ ।

दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयक पारित गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका कारण स्थगित हिजोको बैठकका लागि तय कार्यसूचीलाई नै आजको बैठकमा समेत निरन्तरता दिने संघीय संसद सचिवालयले जनाएको हो ।

डा. गोविन्द केसीको अनसनकैबीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको हो ।

चिकित्सा शिक्षा विधेयक पारित गर्नेसँगै लोक सेवा आयोग विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी, कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेयक र भूउपयोग विधेयक आजै टेवल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने आफ्ना माग सम्वोधन नभएसम्म आजको बैठक पनि चल्न नदिने अडान राखेको छ ।

कांग्रेसका पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल कुन निकायले सञ्चालन गर्ने भन्ने सरकारले स्पष्ट पार्नुपर्ने कांग्रेसले अडान लिएको छ ।

यस्तै डा. गोविन्द केसीले उठाएका माग सम्वोधन गर्नुपर्ने पनि कांग्रेसको अडान छ ।

कांग्रेसले यसअघि हिजो पनि संघीय संसद्का दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अवरुद्ध गरेको थियो ।