Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


नेपालमा लगानी बढाउन माओवादी केन्द्रको चिनियाँ प्रतिनिधिमन्डललाई आग्रह


0
Shares

नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमन्डलसँग मंगलबार राजधानीमा करिब एक घन्टा भएको भेटवार्तामा माओवादी केन्द्रले सो आग्रह गरेको हो ।

नेपालको विकासका लागि विभिन्न मुलुकको सहयोग भइरहेको सन्दर्भमा चिनियाँ लगानी र प्रविधि मुलुकका लागि अत्यावश्यक रहेकोमा जोड दिँदै माओवादीले ‘वान बेल्ट वान रोड’ रेलमार्ग, सडक यातायातलगायत क्षेत्रमा गरेको लगानी र सहयोग उल्लेखनीय रहेको बताएको थियो ।

चिनियाँ प्रतिनिधिमन्डलसँगको भेटवार्तापछि माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आपसी हित र चासोका विविध आयामकाबारेमा छलफल भएको जानकारी दिइन् ।

आफ्नो निमन्त्रणामा नेपाल भ्रमण गरेकामा उपप्रधानमन्त्री वाङलाई धन्यवाद दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएका सम्झौता र सहमतिलाई कार्यान्वयन गर्नसमेत आग्रह गरेको प्रवक्ता भुसालले बताइन् ।

स्थानीय तहको निर्वाचनपछि मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढेको र निकट भविश्यमा नै संघ र प्रदेशकोसमेत निर्वाचन गराउने तयारीमा आफूहरुसमेत सम्मिलित सरकारले प्रक्रिया अगाडि बढाएको भन्दै भेटकाक्रममा अध्यक्ष दाहालले चीन सरकारको सहयोग नेपाल र नेपाली जनताका लागि आवश्यक रहेकामा जोड दिएका थिए ।

आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएका भौतिक विकासका एजेन्डामा चीन सरकारको तर्फबाट महत्वपूर्ण सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष दाहालले आगामी दिनमा थप सहयोग र चिनियाँ लगानी भित्र्ने विश्वाससमेत व्यक्त गरेको प्रवक्ता भुसालले जानकारी दिइन् ।

नेपाल राजनीतिक स्थिरताको चरणमा अगाडि बढेको र आर्थिक विकासमा आफ्नो पार्टी प्रतिबद्ध भएर लागेको र अन्य दलकोसमेत एजेन्डा आर्थिक विकास नै भएको भन्दै अध्यक्ष दाहालले भेटवार्तामा चिनियाँ सहयोगको प्रशंसा गरेका थिए ।

यस्तै, माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच जनस्तरसम्म सम्बन्ध विस्तार, भ्रमण आदान–प्रदान तथा आपसी हितका विषयमा खुलेर छलफल भएको प्रवक्ता भुसालको भनाइ छ ।

उपप्रधानमन्त्री वाङले नेपाल भ्रमण गर्न पाएकामा आफूलाई खुसी लागेको भन्दै नेपालको आर्थिक विकासमा सहयोग गर्न चीन सरकार सधैं तत्पर रहेको बताएका थिए ।

उनले दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई आगामी दिनमा थप नयाँ उचाइमा उठाउने विश्वास व्यक्त गरेका थिए ।

नेपालको विकास र समृद्धिमा माओवादी केन्द्रले खेलेको महत्वपूर्ण भूमिकाको उपप्रधानमन्त्री वाङले प्रशंसा गरेका थिए । ‘वान बेल्ट वान रोड’ परियोजनामा दाहाल नेतृत्वको सरकारले हस्ताक्षर गरेको थियो ।

भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, मातृका यादव, अग्निप्रसाद सापकोटा र शक्ति बस्नेतलगायतको उपस्थिति थियो भने उपप्रधानमन्त्री वाङसहित चिनियाँ प्रतिनिधिमन्डलको सहभागिता थियो । रासस