Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


संसदमा जब ‘बाँदर’ भनियो…


0
Shares

नेकपा एमालेका सांसद ममता गिरीले आफ्नो पार्टीका तर्फबाट प्रस्तुत् गरेको सार्वजनिक महत्वको प्रस्तावको बचाऊ गर्दै ‘बाँदर प्रवृत्तिका मानिसलेमात्रै यो प्रस्तावलाई अस्वीकार गर्न सक्दछन्’ भन्ने आशयका अभिव्यक्तिप्रति सांसद रामहरि खतिवडाले तत्कालै उठेर आपत्ति जनाएका थिए ।

उनले भने–‘बाँदर भन्ने शब्द संसदीय मर्यादाविपरीत भएकाले त्यसप्रति मेरो आपत्ति छ, त्यसलाई रेकर्डबाट हटाउन सभामुख समक्ष माग गर्दछु ।’

त्यसको लगत्तै सभामुखको भूमिकामा रहेका नेपाली कांग्रेसका सांसद नारायणबहादुर कार्कीले उक्त शब्दलाई रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीलाई निर्देशनसमेत दिएका थिए ।

त्यसैगरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले ‘तराईको कुरा गर्दा बिहारसँग तुलना गरेर हेर्ने पार्टीले अहिले तराई–मधेसको डुबानको विषयमा सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु कतिको ठीक होला ?’ भन्ने आशयले छलफलमा कुरा राखेलगत्तै एमालेका सांसद तथा जरुरी सार्वजनिक महत्वका प्रस्तावक भीम रावलले उक्त भनाइप्रति आपत्ति प्रकट गर्दै आफूसम्बद्ध पार्टीले तराईका विषयमा कहिले पनि त्यस्तो नभनेको र यस्ता किसिमको प्रचारसमेत नगर्न आग्रह गरेका थिए ।

उनले भने–‘तराई–मधेसप्रति आफ्नो पार्टीले कहिल्यै बिहारसँग जोडेर नहेरेको तथा नेपालको सार्वभौम, स्वतन्त्रता र अखन्डताप्रति आफ्नो पार्टी सदैव सचेत रहेकाले अघिल्ला सांसदबाट तराई भनेको बिहार भन्ने अभिव्यक्ति एमालेले भनेको भन्ने भनाइप्रति आपत्ति छ, यस्तो ‘कु’ प्रचार बन्द गरियोस् ।’ रासस