२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दाङमा टवाङ्खोलाले यात्रीबहाक बस बगायो


0
Shares

दाङ, असार १८ । पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा सोमबार आएको बाढीले ना१ख १८६१ नम्बरको यात्रीबाहक बस बगाएको छ ।

स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ ।

वर्षाका कारण तुलसीपुर, घोराही र लमही सडकखन्डमा पर्ने एक दर्जन खहरेखोलामा बाढी आउँदा यातायातका साधन सन्चालन हुन सकेका छैनन् ।

सोमबार बिहान ठूला गाडी छिटफुटरुपमा सन्चालन भएपनि दिउँसो भने खोलामा पानीको बहाव बढेपछि बन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङको राप्ती र बबई नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी र पहिरोको जोखिम बढेको भन्दै ‘म्यासेज’ पनि पठाएको छ ।

दाङमा आइतबारदेखि आएको अविरल वर्षा अहिले पनि जारी छ । विद्युत् र इन्टरनेट सेवा पनि नियमित हुन सकेको छैन । रासस