
बिराज रोस्यारा (इमेज)
कैलाली, माघ ७ । कैलालीमा एक युवकको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–२, अत्तरियामा २० वर्षीय अरुण भट्टको हत्यामा संलग्न मुख्य अभियुक्त भनिएकासहित चारजनालाई प्रहरीले पक्रेको हो ।
प्रहरीले मुख्य अभियुक्त गोदावरी नगरपालिका–२, शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐरलाई पक्राउ गरेको हो । उनले धारिलो हतियार प्रहार गरी अरुणको हत्या गरेको प्रहरीले जनाएको छ ।
विनोदलाई धनगढी उपमहानगरपालिका–२, उत्तरबेहडीबाट आइतबार राति १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जिल्ला र प्रदेश प्रहरीको संयुक्त टोलीले उनलाई पक्रेको प्रहरीले जनाएको छ ।
घटनाका सहयोगी
पक्राउ परेका अरु तीन आरोपीले मुख्य अभियुक्त विनोदलाई भगाउन र लुकाउनमा सहयोग गरेको प्रहरीको दाबी छ ।
घटनामा सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३, बोडाडाडीका २२ वर्षीय डेविटसिंह ऐर, भजनी नगरपालिका–२ घर भइ हाल धनगढी–२ मा बस्ने २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३, शिवटोलका २१ वर्षीय लोकेश खत्री रहेका छन् ।
डेविटले मुख्य अभियुक्त विनोदलाई से४प ५९२८ नम्बरको मोटरसाइकलमा राखेर भगाउने काम गरेको प्रहरीको भनाइ छ ।
यस्तै, मञ्जु र लोकेशले धनगढीस्थित आफ्नो कोठामा मुख्य अभियुक्तलाई लुकाउने काम गरेको प्रहरीले जनाएको छ ।
विगतमा पनि आपराधिक क्रियाकलापमा संलग्न
पक्राउ परेका विनोद विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको र लागुऔषधको दुर्व्यसनीसमेत रहेको प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले जानकारी दिए ।
१५ मोटरसाइकलसहित सादा पोसाकमा ८० प्रहरी परिचालन
घटनामा संलग्नलाई पक्राउ गर्न १५ ओटा मोटरसाइकलसहित सादा पोसाकमा ८० जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
गएको शनिबार अत्तरियास्थित सुदूरपश्चिम प्रादेशिक महोत्सवको गेटअगाडि धारिलो हतियार प्रहारबाट गोदावरी–१ का अरुणको मृत्यु भएको थियो ।
यसैगरी, मृतकका साथीहरु १८ वर्षीय हरि राई र १४ वर्षीय हरि नेपाली घाइते छन् ।
घटनामा संलग्न फरार अरु व्यक्तिहरुको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए ।
दोषीलाई के हुन्छ सजाय ?
पक्राउ परेकामाथि थप अनुसन्धानका सोमबारै कैलाली जिल्ला अदालतबाट म्याद थप गराइएको छ ।
घटनाका मुख्य दोषीलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १७७ बमोजिम जन्मकैद हुने जनाइएको छ ।
यस्तै, अभियुक्तलाई भगाउने र लुकाउने कार्यमा संलग्न मतियारलाई सोही संहिताको दफा ३६ बमोजिम मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुने र दफा १८६ बमोजिम पीडित पक्षलाई उचित क्षतिपूर्ति दिइनुपर्ने व्यवस्था रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्