अघिल्लो आव २०७२/०७३ मा एकलाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गतवर्ष २०७३/०७४ मा एकलाख २३ हजार ७४० मे.ट. दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ ।
व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै पाँचवर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । पशुपालन व्यवसायमा किसानको आकर्षण बढ्नु, सरकारी लगानी बढ्दै जानु तथा कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार तथा उन्नत जातका घाँसखेतीले दूध उत्पादनमा वृद्धि भएको हो ।
उत्पादित दूध बिक्रीबाट जिल्लामा यो वर्ष रु ४ अर्ब ७० करोड ६१ लाख भित्रिएको छ । दैनिक ३६ हजारदेखि ४० हजार लिटर दूध विराटनगरस्थित दुग्ध वितरण संस्थानमा बिक्री हुँदै आएको कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै, निजीस्तरबाट दैनिक २० हजार लिटर दूध झापा, विराटनगर, इटहरी बिक्री हुन्छ । जिल्लाका ५५ हजारभन्दा बढी किसानले व्यावसायिक गाई तथा भैँसीपालन गर्दै आएका छन् । पशुआहाराका लागि किसानले ‘टिओसेन्टी, जै, बर्सिम, भेज, नेपियर, सिटेरिया’ जातका उन्नत घाँस लगाएका छन् ।
इलाममा दूध सरदर रु ३८ देखि ४५ प्रतिलिटरले बिक्री हुने गरेको छ । दुग्ध विकास संस्थानले जिल्लाका बिब्ल्याँटे, पूवाखोला, शान्तिडाँडा, लक्ष्मीपुर, तीनघरे र फिक्कल तथा कुट्टीडाँडालगायत १६ ओटा दुग्ध चिस्यान केन्द्रबाट दूध ढुवानी गर्दै आएको छ ।
जिल्लाका ग्रामीण भेगमा उत्पादित दूध स्थानीय डेरी उद्योग, सहकारी संस्था र त्यस्ता क्षेत्रमा खुलिएका निजी तथा सहकारी कारखाना, ललीपप उद्योग र निजीस्तरका डेरीले किसानले उत्पादन गरेको दूध खरिद गर्दै आएका छन् ।
घरेलु तथा साना उद्योग विकास समिति इलामका अनुसार जिल्लामा १०० ओटा छुर्पी, नौओटा ललीपप, चीज २४, एकआइस्क्रिम र दुई ओटा ठूला डेरी उद्योग सन्चालनमा छन् । यीबाहेक दर्ता नभई पनि जिल्लामा दर्जनभन्दा बढी डेरी उद्योग समेत सनचालन भइरहेका छन् ।
ती उद्योगमा वार्षिक रु ८५ करोडभन्दा बढीको दूधजन्य परिकारको कारोबार भएको छ । दूधबाट निर्मित घ्यू प्रतिकिलो रु ५००, छुर्पी रु ८००, ललीपप प्रतिकिलो रु १० हजारमा बिक्री हुँदै आएको छ । रासस









प्रतिक्रिया दिनुहोस्