
काठमाडौं, असार १८ । हस्तकला उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापित पाटन औद्योगिक क्षेत्र पछिल्लो समय ओझेलमा परेको छ । कलाको प्रवर्द्धन र व्यवसायको विकास गर्ने योजना नबन्दा हस्तकला क्षेत्रमा काम गर्दै आएका उद्यमीहरु निराश बन्न थालेका छन् ।
ललितपुरको समग्र कला व्यवसायको विकास गर्ने उद्देश्यका साथ वि.सं.२०२० मा स्थापित पाटन औद्योगिक क्षेत्र पछिल्लो समय सेलाउँदै जान थालेको छ । २१९ रोपनी क्षेत्रफलमा फैलिएको पाटन औद्योगिक क्षेत्रमा ११६ उद्योग संचालनमा छन् भने २ हजार जनाले रोजगारीको अवसर पाएका छन् ।
उद्योग मन्त्रालयअन्तर्गत रहेको यस औद्योगिक क्षेत्र बालाजु औद्योगिक क्षेत्रको अर्को अंगको रुपमा रहेर काम गर्दै आइरहेको छ । उद्योगमा यतिबेला सोचे अनुरुप ग्राहकहरुको आगमन नहुँदा हस्तकलाको क्षेत्रमा काम गर्दै आइरहेका उद्यमीहरु निराश बन्न थालेका छन् । राज्यबाट उद्यमीहरुलाई प्रोत्साहान र बजार प्रवर्द्धन गर्ने कार्यक्रम नहुँदा निकै समस्यामा परेको हस्तकलाको क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरुको भनाइ छ ।
कुनै बेला राष्ट्रिय पहिचानको समेत मान्यता पाएको यस औद्योगिक क्षेत्रमा राज्यको उच्च तहबाट व्यवसाय प्रवर्द्धन गर्ने अवलोकन भ्रमणहरु हुन छाडेका छन् । विगतमा हुलका हुल विदेशी पर्यटकहरु औद्योगिक क्षेत्रमा जाने गरेकोमा अहिले त्यो क्रम निकै घटेको छ । पाटनका हस्तकलाको सामानको राम्रोे बजार रहेकाले राज्यले उचित चासो दिएको खण्डमा चीनमा समेत राम्रो बजारीकरण हुने चिनियाँ व्यापारी चाङले बताए ।
औद्योगिक क्षेत्रका कतिपय भवनहरु त यतिबेला मजदुरको आवासको रुपमा समेत परिणत हुन थालेको छ । औद्योगिक क्षेत्रले मजदुरहरुलाई भवन छाड्न पटक पटक भने पनि कतिपयले अझै अटेर गरेर बसिरहेका छन् ।
पछिल्लो समय औद्योगिक क्षेत्र सरकारको प्राथमिकताबाट टाढा हुँदै गएको र हस्तकलाका उद्यमीहरु निराश बन्ने अवस्था आएको पाटन औद्योगिक क्षेत्र समितिकी व्यवस्थापक सिर्जना श्रेष्ठले बताइन् ।
५६ वर्षको इतिहास बोेकेको पाटन औद्योगिक क्षेत्रको पछिल्लो दुरावस्थाले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने सरकारको नारालाई गिज्याइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्