गोल्फुटारमा रहेको नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर अहिले उनीहरुले प्रदर्शन गर्दा प्रहरीसँग झडप समेत भएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । प्रदर्शनमा एमाले बाहेकका अन्य पार्टीका कार्यकर्ताहरु सहभागी छन् ।
स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय शनिबार सकिएपछि राती अवेरसम्म एमाले नेताको घरमा फोटो सहितको मतदाता नामावली तयार पारिरहेको बेला निर्वाचन कार्यालयका कर्मचारीलाई नामावली संकलन गर्ने उपकरणसहित प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले नामावली संकलनका लागि खटाएका आकृत खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
एमाले नेता अर्जुन खत्रीको भतिजा समेत रहेका खत्रीलाई यही कामका लागि स्थानीय तहको सिफारिसमा करारमा राखिएको थियो भने बाँकी कर्मचारी स्थानीय तहले व्यवस्थापन गरेको थियो ।
बुढानिलकण्ठमा दुई ओटा टोलीले तस्बिरसहितको मतदाता नामावली संकलन गरेको थियो ।
खत्रीलाई प्रयोग गरेर एमाले नेताहरुले आफ्ना समर्थकहरुलाई घरमै नाम लेखाउने व्यवस्था मिलाएको काँग्रेसका नगर सदस्य मनोज सिग्देलले जानकारी दिए ।
तस्बिरसहितको मतदाता नामावलीमा नाम लेखाउन समय सकिएपछि पनि उनीहरुले नामावली तयार पारिरहेका बेला राती दुई बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो ।
एमालेको बुढानीलकण्ठ नगरपालिका अध्यक्ष दिपक निरौलाबाट उनीहरुलाई पक्राउ गरी महारजगञ्जस्थीत प्रहरी कार्यालयमा राखिएको छ ।
प्रहरीले निरौला र खत्रीसँगै बुढानीलकण्ठ ९ का वडाध्यक्ष राजेन्द्र सापकोटालाई पनि पक्राउ गरेको छ ।
महाराजगञ्ज वृत्तले पनि कर्मचारी र एमाले नेतालाई मतदाता नामावली संकलन गर्ने सामग्री सहित नियन्त्रणमा लिएको पुष्टी गरेको छ ।





प्रतिक्रिया दिनुहोस्