Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


ताप्लेजुङमा स्थानीय तहको बजेट तर्जुमासम्बन्धी छलफल


0
Shares

राज्य पुनःसंरचना पश्चात स्थानीय सरकारको रुपमा रहेको जिल्ला विकास समितिको कार्यालय जिल्ला समन्वय समितिमा परिणत भएपछि पहिलो पटक आर्थिक वर्ष २०७४/७५ को बजेट तर्जुमा सम्बन्धी आइतबार सरोकारवालासँग समितिले छलफल गरेको हो ।

जिल्ला समन्वय समितिको कार्यालयमा आयोजना गरिएको छलफलमा समन्वय समिति पदाधिकारी, सदस्य, सबै स्थानीय तहका नव निर्वाचित अध्यक्ष र विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन–२०७४ र चालू आर्थिक वर्षका लागि जिल्लालाई विनियोजन भएको बजेट तथा योजनाका बारेमा जानकारी गराउने उद्देश्यले छलफल आयोजना गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका स्थानीय विकास अधिकारी नरहरि भण्डारीले जानकारी दिए ।

भण्डारीले नयाँ संरचना अनुसार स्वीकृत नयाँ नीति, नयाँ कार्यक्रम तथा योजना र बजेट तत्काल कार्यान्वयनका लागि केही असहजता रहेपनि दिग्दर्शन तयार भएकाले सोहीबमोजिम योजना तथा बजेट तर्जुमा गरेर कार्यान्वयन गर्न सकिने बताए । उनले योजना तथा बजेट तर्जुमा दिग्दर्शन–२०७४ सबैले अध्ययन गर्न जरुर रहेको पनि बताए ।

बजेट तर्जुमाबारे अन्योल रहेपनि भर्खरै जारी दिग्दर्शनले वार्षिक बजेट तर्जुमा गर्नलाई सहज हुने बताइएको छ ।

केन्द्र सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेट गत जेठ १५ गते नै सार्वजनिक गरी स्थानीय तहलाई बजेट छुट्याइसके पनि स्थानीय तहमा भने बजेट बनाउने सम्बन्धमा अलमल रहेको बताइँदै आएको थियो । यता, छलफल कार्यक्रममा जिल्लास्थित उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्ग आयोजना, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा लगायतका विषयगत कार्यालयहरुले चालू आवका लागि स्वीकृत भई आएको बजेट तथा योजनाका बारेमा जानकारी गराएका थिए ।

धेरै विषयगत कार्यालयका अनुसार अधिकांश बजेट तथा योजना सम्बन्धित स्थानीय तहलाई नै विनियोजन भएको छ । विषयगत कार्यालयले आफ्नो योजना तथा बजेटसम्बन्धमा कार्यक्रममा प्रस्तुति गरेपछि अधिकांश स्थानीय जनप्रतिनिधिले कार्यान्वयनका विषयमा अन्योलता व्यक्त गरेका थिए ।

तथापि, कतिपय योजनाका बारेमा भने जनप्रतिनिधिहरुले वस्तुगत आवश्यकता र सुधारका विषयमा सुझाव राख्दै छलफलमार्फत योजना तर्जुमा तथा निर्माण गर्नुपर्ने बताएका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख घनेन्द्र मादेनले जिल्लाको वस्तुगत आवश्यकता र महत्वका आधारमा सबै योजनाको तर्जुमा तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।