१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


मोरङमा ८१ हजार र ताप्लेजुङमा ९ हजार मतदाता थपिए


0
Shares

मोरङमा थपिएका मतदातामा ४१ हजार ४ सय ७८ महिला र ४० हजार ३ सय ८३ पुरुष रहेको विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रीय निर्वाचनन कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलका अनुसार थपिएका मतदातामध्ये क्षेत्रीय निर्वाचन कार्यालयमार्फत सबैभन्दा बढी २० हजार ९ सय ८७ जना मतदाताको नाम संकलन भएको छ ।

साउन १ देखि भदौ ३ सम्म मोरङका विभिन्न ८ स्थानीय तहलाई केन्द्र बनाएर फोटोसहितको मतदाता नामावली संकलन गरिएको हो । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगर, उर्लाबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, सुन्दर हरैचा नगरपालिका, रंगेली नगरपालिका सुनवर्षी नगरपालिकामा मतदाता नामवाली संकलन गरिएको थियो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङ जिल्लामा ५ लाख ७२ हजार मतदाता थिए ।

यस्तै ताप्लेजुङमा करिब ९ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर राख्दै निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा ८ हजार ९ सय ६३ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

थपिएका मतदातामा ४ हजार १ सय ६२ महिला र ४ हजार ८ सय १ पुरुष छन् । ताप्लेजुङमा १ नगरपालिका र ८ गाउँपालिका गरी ९ स्थानीय तहका कार्यालय मार्फत साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो ।