
झापामा बाढीका कारण १३ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी झापा गाउँपालिकाका रहेका छन् । झापा गाउँपालिकामा मात्रै बाढीकै कारण सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पनि झापा गाउँँपालिका नै हो । माई र सानो माईको भंगालो गाउँ पसेपछि सिंगो झापा गाउँपालिका तीनदिन डुब्यो । गाउँपालिकाको ७ नम्बर वडा टप्पु गाउँ सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो । सोही गाउँ नजिकैका टेकबहादुर दर्नालकी श्रीमती कमला र छोरी खुशीले बाढीका कारण ज्यान गुमाए । सानो माईको नजिकै घर थियो उनीहरुको ।
तर, सोही गाउँका ३२ परिवारका १५० जनाले भने एसएमएसका कारण ज्यान जोगाएका छन् । कन्काई नदीमा बाढी आउने सूचना दुईघण्टा अघि एसएमएसबाट थाहा पाएपछि सो गाउँका ७८ महिला र ७२ जना पुरुषले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको स्थानीयवासी तथा खोज तथा उद्धार कार्यदलका सदस्य सुनिल हस्दाले बताए ।
‘युएसआइडी’को आर्थिक सहयोग, ‘प्राक्टिकल एक्सन’को प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटीले सन्चालन गरेको कन्काई बाढी पूर्व सूचना प्रणालीमार्फत बाढी आउने सूचना मोबाइलमा एसएमएस आएपछि टप्पुवासीले सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए ।
सो क्षेत्रमा तीनवर्षअघिदेखि कन्काई बाढी पूर्व सूचनासम्बन्धी काम नेपाल रेडक्रस सोसाइटी झापाले गर्दै आएको छ ।
सानो माई पश्चिमको गाउँ हो टप्पु । टप्पु गाउँमा पश्चिमबाट माई र पूर्वबाट सानो माईको भंगालो पसेपछि त्यहाँका ३२ परिवार तीनदिनसम्म डुवानमा परे । त्यो गाउँमा उद्धारका लागि न नेपाली सेनाको टोली पुग्न सक्यो न त त्यहाँ अरु कुनै निकायको उद्धार टोली नै पुग्यो ।
उद्धारका लागि खटिएको नेपाली सेना र प्रहरीको टोली बीचबाटोबाटै फर्किएपछि स्थानीयवासी आफैंले केराको थम्बाको सहारामा सानो माई पार गर्दै तीन दिनपछि सिमलवाडी पुगेर आश्रय लिएको स्थानीयवासी हस्दाले बताए ।
कन्काई माईको मैनाचुलीमा राखिएको बाढी पूर्व सूचना प्रणालीबाट बाढी आउनुभन्दा दुई घण्टा पूर्व नै बाढी आउने सूचना थाहा पाएर ज्यान जोगाउन पाएकामा विपद्मा पनि खुशी छन् उनीहरु ।
कन्काई माईको मैनाचुलीमा राखिएको बाढी पूर्व सूचना प्रणालीबाट बाढी आउनुभन्दा दुई घण्टा पूर्व नै बाढी आउने सूचना थाहा पाएर ज्यान जोगाउन पाएकामा विपद्मा पनि खुशी छन् उनीहरु ।
सन्थाल समुदायको बाहुल्य रहेका त्यहाँका बासिन्दा बाढी आउने विषयमा पूर्व सूचना प्रणालीका कारण बाँचेको बताउँछन् । तर, नेपाल रेडक्रस सोसाइटी झापाले समुदायमा पुगेर गठन गरेको सामुदायिक विपद् व्यवस्थापन समितिमा नरहेका दर्नाल परिवारको भने उठिवास भयो ।
सिमलवाडी र टप्पु जोड्ने सडकखण्ड बीच सानो माई खोलाको छेउमा घर बनाएर बसेका टेकवहादुरको न घर रह्यो न श्रीमती र छोरी नै रहे । मेचीनगर–१२ स्थित भाइ (फुपूका छोरा) सरमान बराइलीको घरमा उनी अहिले श्रीमती र छोरीको काज किरियामा बसेका छन् । उनसँगै जेठी श्रीमतीपट्टिकी साइँली छोरी पनि किरिया बसेकी छन् ।
झापा गाउँपालिका–७ का पूर्व सूचना कार्यदलका संयोजक विकाश टुडूका अनुसार सामुदायिक विपद् व्यवस्थापन समिति (सिडिएमसी) मा आबद्ध गाउँका ३२ घर परिवारले बाढी आउँदा कसरी बच्ने भन्ने विषयमा जानकारी लिएका थिए । तर, दर्नाल परिवार भर्खरैमात्र पहाडबाट बसाईँ सरेर आएकाले बाढीबाट कसरी बच्ने भन्ने विषयको ज्ञान नभएका कारण अत्तालिएर भाग्दा ज्यान गुमाउनु परेको स्थानीयवासी बताउँछन् ।
‘बाढीबाट कसरी बच्ने भन्ने विषयमा जानकारी नभएको भए टप्पु गाउँका हामी कोही पनि ज्यूँदो भेटिने थिएनौं’ -आकृति टुडू, खोज तथा उद्धार कार्यदलका सदस्य
‘बाढीबाट कसरी बच्ने भन्ने विषयमा जानकारी नभएको भए टप्पु गाउँका हामी कोही पनि ज्यूँदो भेटिने थिएनौं’ – खोज तथा उद्धार कार्यदलका सदस्य आकृति टुडूले भनिन् ।
पूर्व सूचना प्रणालीकै कारण गर्भवती महिलाको उद्धार गर्न पाएका कारण सुनिल पीडामा पनि खुशी छन् । उनी आफ्नो पीडा भुलेर भन्छन्– ‘कन्काई माईमा पानीको सतह बढेर सतह नाध्न थालेपछि हामीले कसैलाई भाग्न दिएनौं । कोही भाग्न नपाएका कारण गर्भवती महिला, वद्धवृद्धा र बालबालिका सबैको ज्यान बच्यो ।’
हस्दाले भने– ‘तालिमपछि हामीले ट्युब, लाइफ ज्याकेट, टायर लगायतका सामग्री राखेका थियौं, त्यतिले नपुगेपछि हामीले कोलाको थम्बा प्रयोग गरेर पनि टप्पुवासीको उद्धार गर्न पाएकामा खुशी छु ।’
टप्पुवासीले बाढी आउने सूचना पाएपछि उनीहरुले पनि खतराको साइरन बजाएका थिए । बाढी आएलगत्तै मोबाइल सम्पर्क टुटेका कारण उनीहरुले घर–घरमा पुगेर बाढी आउने भन्दै सबैलाई खबर गरेका थिए । ‘मोबाइल सम्पर्क विच्छेद नभएको भए आफूहरुलाई जिल्लामा रहेको सूचना सन्जाल र मैनाचुली स्टेशनबाट पनि टेलिफोन आउने थियो’ – स्थानीय गोपाल थपलियाले भन्छन् ।
टप्पुवासीको पहिलो आवश्यकता स्वास्थ्योपचार
यहाँको पहिलो आवश्यकता भनेको औषधि उपचार हो । बाढीबाट जसोतसो ज्यान जोगायौं । अब रोग लाग्यो भने चाहीँ के गर्ने ? न बस्ने घर छ न सुत्ने ओच्छ्यान नै ।– तर्सला टुडू, स्थानीय
बाढीका कारण टप्पुवासीले पालेका धेरै पशुचौपाया मरेका कारण टप्पु लगायत झापा गाउँपालिकाका धेरै स्थानमा यतिबेला दुर्गन्ध फैलिएको छ । धेरै पशुचौपायालाई बाढीले बगाएर मरेपछि जताततै दुर्गन्ध फैंलिएसँगै सरुवा रोगको खतरा बढेको स्थानीय तर्सला टुडूले बताइन् । उनले भनिन्– ‘यहाँको पहिलो आवश्यकता भनेको औषधि उपचार हो । बाढीबाट जसोतसो ज्यान जोगायौं । अब रोग लाग्यो भने चाहीँ के गर्ने ? न बस्ने घर छ न सुत्ने ओच्छ्यान नै ।’
बाढी आउने सूचना आफूहरुले दुई घण्टा अघि नै थाहा पाएपनि मुसलधारे बर्षाका कारण अन्नपात र घरमा रहेको अन्य सामग्रीलाई सुरक्षित गर्न नसकिएको उनको भनाइ थियो ।
आपत्कालीन अवस्थाका लागि त्यहाँका सर्वसाधरणले प्रत्येक महिना प्रतिपरिवार २०/२० रुपैयाँ बचत गरेको रकमले दुई दिनसम्म प्राण धानेको कार्यदलकै तुर्सला बताउँछिन् ।
इलामको माई नगरपालिकास्थित मैनाचुलीमा वि.सं.१९७१ सालमा स्थापना भएको जलमापन केन्द्र गत साता माई खोलामा आएको बाढीले बगाएको छ ।
बाढी आउनुभन्दा ५ घण्टा अघिसम्मको सूचना दिनसक्ने जलमापन केन्द्र बगाएपछि अहिले अझ बढी चिन्तित छन् त्यस क्षेत्रका सर्वसाधारण ।
झापा गाउँपालिका–७ निवासी आकृति टुडू भन्छिन्, ‘जलमापन केन्द्र भएन भने हामी टप्पुवासीमात्र होइन आसपासका बासिन्दाले पनि बसाइँ सरे हुन्छ ।’
झापासहित इलामको माई र देउमाई नगरपालिका तथा माङ्सेवुङ गाउँपालिकामा बाढी पूर्व सूचना प्रणाली सन्चालनमा रहेको वरिष्ठ परियोजना अधिकृत राकेशकुमार साहले बताए । उनका अनुसार झापामा मात्रै १० हजार १४५ जना मानिसले यसबाट प्रत्यक्ष लाभ लिइरहेका छन् ।
झापामा १५ ओटा र इलाममा १० ओटा समुदायमा यो परियोजना सन्चालनमा रहेको छ ।
वर्षेनी कन्काई नदीमा आउने बाढीले झापावासीलाई दुःख दिने गरेपछि उनीहरुले कन्काई नदीमा तटबन्धन गर्न माग गरेका छन् । दुई मुठ्ठी चामल र एउटा त्रिपालले आफूहरुको समस्या समाधान नहुने भन्दै दीर्घकालीन सोचका साथ कन्काई नदीमा बाँध बाँध्न उनीहरुले सरकारसँग माग गरेका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्