२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


केआईएनद्वारा तीन वर्षमा ३६१ भन्दा बढी किशोरीको उद्धार


0
Shares

मनिष गुप्ता/ईमेज

कपिलवस्तु । मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विगत १२ वर्षदेखि कार्य गर्दै आइरहेको संस्था केआईएन नेपाल कपितवस्तुले आफ्नो तीन वर्षको प्रतिवेदन सार्वजनिक गरेको छ ।

केआईएन नेपाल कपिलवस्तु शाखाले सीमा नाकामा सीमा निगरानी कार्यक्रम अन्तर्गत ३ वर्षको अवधिमा १२,४६७ जना प्रभावितहरुलाई सीमा निगरानी, सूचना सम्प्रेषण परामर्श तथा उद्धार गरिएको जसमध्ये ३६१ जनालाई उद्धार पश्चात परिवारमा पुनर्मिलन गराइएको, २२६ जनालाई आपतकालिन सुरक्षित आवास सेवा प्रदान गरिएको छ ।

३० जनालाई उद्धार पश्चात चितवनस्थित सुरक्षित आवास गृहमा सीप विकास तालिममा सहभागि गराइएको साथै इलाका प्रहरी कार्यालय कृष्णनगरमा दर्ता भएका ९  वटा मानव बेचबिखन तथा ओसारपसारसंग सम्वन्धित मुद्दाका १४ जनाको प्रभावितहरुले ११ जना विचौलिया विरुद्ध किटानी जाहेरी दिएका थिए ।

 जसमध्ये सम्माननीय जिल्ला अदालत कपिलवस्तुले ७ वटा मानव बेचबिखन तथा ओसारपसारसंग सम्वन्धित मुद्दामा अभियुक्तहरुलाई १-१० वर्ष सम्मको जेल सजायको फैसला भइसकेको  जानकारी जिल्ला संयोजक केसर विश्वकर्माले दिए ।

शाखा मार्फत ३ वर्षको समयमा उद्धार गरिएका प्रभावितहरुलाई आधार मान्ने हो भने मुख्य गरी १५-२५ वर्ष उमेर समुहका महिला तथा किशोरीहरु मानव बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ ।

आर्थिक अभाव, शिक्षाबाट बंचित, बढ्दो बेरोजगारी, प्रविधिको दुरुपयोग तथा बेचबिखनको बदलिदो स्वरुपको कारण महिला तथा किशोरीहरु बेचबिखनको उच्च जोखिममा रहेको परामर्शकर्ता पवित्रा चौधरी बताउँछिन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंगको  प्रभावकारी समन्वय र सहकार्य मार्फत केआईएन नेपाले समुदाय विकास कार्यक्रम अन्तर्गत समुदायमा रहेका मानव बेचबिखन तथा लैङ्गिक हिंसाका सम्भावित महिला तथा किशोरीहरुलाई सक्षम तथा आत्मनिर्भर बनाउन समुदाय स्तरमा सचेतनामुलक र आयमुलक कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ ।

संस्थाको सहयोगमा कपिलवस्तुको बुद्धभुमि नपा टिक्करमा महिला समुह गठन गरी  बचत गर्न थालेका महिलाहरुद्धारा संचालित श्री चेली कृषि सहकारीमा हाल ४०६ जना सदस्यहरु आवद्ध रहेका छन् ।

हाल समुदायमा संचालित कानुनी साक्षरता तालिम, आयमुलक र व्यवसायमुलक तालिमहरु तथा सचेतनामुलक कार्यक्रमहरुको माध्यमद्धारा मानव बेचबिखनका घटनाहरु न्युनिकरण हुँदै आइरहेको र उक्त कार्यक्रमहरुको माध्यमबाट महिलाहरु सक्षम र आत्मनिर्भर हुदै आइरेहेको र जसले गर्दा मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्युनिकरणमा सहयोग पुगेको धारणा विश्वकर्माको रहेकोे छ ।