Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


काँग्रेस नेता निधि कार्यबाहक सभापति, चार जना केन्द्रीय सदस्य थपिए


0
Shares

भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेका सभापति देउवाले भारतबाट फिर्ता नहुँदासम्मका लागि नेता निधिलाई कावा सभापति तोक्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

त्यसैगरी सभापति देउवाले आजै नेपाली काँग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २१ (ठ) बमोजिम हरिप्रसाद नेपाल (पाल्पा) राधेचन्द्र यादव (बारा) र अमृत अर्याल (मोरङ) तथा विधानको धारा २१ (झ) बमोजिम ध्यानगोविन्द रञ्जित (काठमडौँ) लाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे हृदयराम थानी सदस्य रहेको पार्टी केन्द्रीय अनुशासन समिति समेत गठन गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्ली गएका प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमण सम्पन्न गरी यही भदौ ११ गते स्वदेश फर्किनेछन् । रासस