Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


दुई अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन, हिउँदमा थप १०० मेगावाट विद्युत् आउने


0
Shares

दुई महत्वपूर्ण अन्तरदेशीय प्रसारणलाइनको बिहीबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्तरुपमा उद्घाटन गरिएको हो ।

आगामी हिउँदको विद्युत् मागलाई धान्न भारतबाट थप १०० मेगावाट विद्युत् आयात हुने भएको छ । ती अन्तरदेशीय प्रसारणलाइनमार्फत् थप ५०/५० मेगावाट विद्युत् आयात हुनेछ ।

हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले स्वीच थिचेर ती प्रसारणलाइनको उद्घाटन गरेका हुन् ।

यसअघि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा पनि ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन गरिएको थियो ।

ती दुवै आयोजनाको क्षमता १३२ केभी रहेको छ । नेपालको विद्युत् मागलाई सम्बोधन गर्ने लक्ष्यअनुसार सरकारले भारतसँग ती दुई अन्तरदेशीय प्रसारणलाइनबाट थप विद्युत् आयात गर्ने सहमति यसअघि नै भइसकेको छ ।

बिहीबार उद्घाटन गरिएका दुईओटै प्रसारणलाइन गत माघमा नै निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

नेपालको विद्युत् मागलाई सम्बोधन गर्ने लक्ष्यअनुसार नै ती अन्तरदेशीय प्रसारणलाइनको बिहीबार संयुक्तरुपमा उद्घाटन गरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

वीरगन्ज औद्योगिक कोरिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारणलाइन निर्माण गरिएको रक्सौल–परवानीपुर प्रसारणलाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले राससलाई बताए ।

विद्यमान ३३ केभी प्रसारणलाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत् आयात गरिनेछ ।

यसले वीरगन्ज औद्योगिक कोरिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना प्राधिकरणको छ ।

भारतीय ठेकेदार मोहना इनर्जीले सो प्रसारणलाइन निर्माण गरेको हो । हाल भारतबाट नेपालले ३५० मेगावाट विद्युत् आयात गरिरहेको छ । ती प्रसारणलाइनबाट थप १०० मेगावाट विद्युत् आयात भएपछि ४५० मेगावाट पुग्नेछ ।

प्राधिकरणले यसअघि प्रसारणलाइन क्षमताको अभावमा चाहेजति विद्युत् ल्याउन सकेको थिएन ।

रक्सौल–परवानीपुर र कुशाहा–कटैया प्रसारणलाइन निर्माण सम्पन्न भएपनि विभिन्न प्राविधिक कारणले विद्युत् आयात हुन सकेको थिएन ।

ती प्रसारणलाइनबाट आयात हुने विद्युत्को मूल्य अन्य कम क्षमताको प्रसारणलाइनको भन्दा कम रहेको छ ।

केही समयपहिले विद्युत् आदान–प्रदान समितिको बैठकबाट १३२ केभी क्षमताको प्रसारणलाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु ८.८८ (भारु ५.५५) हुने तय गरिएको थियो ।

प्राधिकरणकाअनुसार ती प्रसारणलाइनले चर्केको जग्गाको मुआब्जा नेपाल सरकारले र प्रसारणलाइन निर्माणको काम भने भारतीय कम्पनीले गरेको हो ।

प्राधिकरणकाअनुसार आव २०७३/७४ मा रु १४ अर्ब २० करोड बराबरको विद्युत् आयात गरेको थियो । भारतबाट आयातीत ऊर्जा ३४.७६ प्रतिशतले बढेको छ ।