उक्त पार्टीका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । राजपाको दल दर्ता नम्बर ५५ रहेको छ ।
सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ भने स्थानीय तहको निर्वाचन प्रदेश नम्बर–२ मा आगामी असोज २ गते हुँदैछ ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले भदौ ११ गते आइतबारसम्मको समय तोकेको छ । शनिबारसम्म आयोगमा ५६ ओटा दल दर्ता भइसकेका छन् ।
दल दर्ता गराउनेक्रममा राजपाको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँगसमेत भेटवार्ता गरी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनकोबारेमा केन्द्रित रहेर छलफल गरेको छ ।
छलफलपछि सन्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले राजपाको जनताबीचमा जाने निर्णयअनुरुप दल दर्ताको लागि आयोगमा आएको बताए ।
उक्त पार्टीले स्थानीय तहको निर्वाचनमा साइकल चिह्नमा चुनाव लडेपनि निर्वाचन आयोगसँग पार्टीको चुनाव चिह्न छाताको लागि प्रयास गरिरहेको बताइएको छ ।
टोलीमा अध्यक्षमन्डलका सदस्य महेन्द्र यादव, शरत्सिंह भण्डारीलगायतका नेता सहभागी थिए । रासस





प्रतिक्रिया दिनुहोस्