प्रदीप पौडेल (इमेज)
पोखरा, माघ ५ । पोखरामा सम्पन्न दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै सशस्त्रले उपाधि रक्षा गरेको छ ।
उपाधिसँगै सशस्त्रले नगद तीन लाख ५० हजार रुपैयाँसहित, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको पुलिसले एक लाख ७५ हजारमा चित्त बुझायो ।
सशस्त्रले यसअघि भएको पहिलो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिबलकोे फाइनलमा पुलिसलाई नै पराजित गरेको थियो ।
प्रदेश–३ तेस्रो
शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश नम्बर–३ ले घरेलु टोली गन्डकी प्रदेशलाई ३–१ को सेटमा नै हरायो ।
तेस्रो भएसँगै प्रदेश–३ ले एक लाख रुपैयाँ पायो । सान्त्वना पुरस्कारस्वरुप गन्डकी प्रदेशले ५० हजार हात पार्यो ।
सरस्वती सर्वोत्कृष्ट
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सशस्त्र प्रहरीकी सरस्वती चौधरी घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन् ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्लकर सशस्त्रकै लिला केसी, उत्कृष्ट स्पाइकर प्रदेश–३ की प्रतिभा माली, उत्कृष्ट सर्भर गन्डकी प्रदेशकी अरुणा शाही, उत्कृष्ट सेटर पुलिसकी कमला पुन, उत्कृष्ट लिब्रो पुलिसकै शान्ति तामाङ र उत्कृष्ट प्रशिक्षक सशस्त्रका ज्ञानेन्द्र विष्ट घोषित भए । उनीहरुले जनही पाँच हजार रुपैयाँ पाए ।








प्रतिक्रिया दिनुहोस्