Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


प्रदेश नम्बर–२ को निर्वाचन: दलहरुले कहिले छान्छन् उम्मेदवार ? (भिडियो)


0
Shares

उम्मेदवार छान्न दलहरुले आन्तरिक छलफल गरिरहे पनि सफल हुन सकेका छैनन् । पार्टीभित्रको विवादका कारण दलहरु उम्मेदवार छान्न असफल भएका हुन् ।

पार्टीभित्र उम्मेदवारका आकांक्षी धेरै भएपछि दलहरु प्रदेश नम्बर–२ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न सकिरहेका छैनन् ।

यतिमात्र नभइ पार्टीभित्रका गुट–उपगुट, खिचातानी र प्रतिस्पर्धामा दलहरुलाई समयमै उम्मेदवार छान्न कठिन भइरहेको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छान्न सकिरहेको छैन ।

कांग्रेसले असोज २ को स्थानीय तह चुनावका लागि साउन मसान्तभित्रै उम्मेदवार चयन गरिसक्ने जनाएको थियो । तर, अहिलेसम्म पनि उम्मेदवार चयन गर्न सकेको छैन ।

कांग्रेस नेता मीनबहादुर विश्वकर्माले तराई–मधेसमा भएको प्राकृतिक विपत्तिले उम्मेदवार छनोटमा ढिलाइ भएको तर्क गर्दै अब केही दिनमै टुंगो लाग्ने जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने लगभग ९० प्रतिशत उम्मेदवारको टुंगो लगाइसकेको जनाएको छ ।

पार्टी सचिव प्रदीप ज्ञवालीले उम्मेदवारी छनोटमा कुनै समस्या नरहेको भन्दै अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै उम्मेदवार सार्वजनिक गरिने जानकारी दिए ।

सत्तारुढ दलको प्रमुख एक घटक नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार छनोट गर्न सकेको छैन ।

तराईमा आएको बाढी, अरु दलहरुसँगको सहकार्यलगायतका कारण उम्मेदवार चयनमा ढिलाइ भएको नेता हरिबोल गजुरेल बताउँछन् ।

दुई चरणमा स्थानीय तह निर्वाचन बहिस्कार गरेको राजपा पनि २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यमा लागेको छ ।

यस्तै, अरु दल पनि छनोटको गृहकार्यमा लागेपनि आन्तरिक विवादका कारण उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले भदौ २१ गते उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

भिडियो हेर्नुहोस्