तर पूर्वी पहाडी जिल्ला धनकुटा भने खाद्यान्नमा आत्मनिर्भर हुँदै वचत गर्ने अवस्थामा पुग्न सफल भएको छ ।
केही बर्ष अघिसम्म जिल्लामा उत्पादन भएको खाद्यान्नले अपुग हुने धनकुटा यतिबेला भने बचतको अबस्थामा पुगेको छ ।
पछिल्लो समय खाद्य वाली अन्तर्गत पर्ने धान, मकै, कोदो र गहुँलगायतका वालीको उत्पादन बढेसंगै धनकुटा खाद्यान्नमा आत्मनिर्भर भइ बचतको अबस्थामा पुगेको हो ।
हाल धनकुटामा कुल ९६ हजार ४ सय १३ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । जसमध्ये ३९ प्रतिशत उपभोग्य खपत, ५५ बिउ, भण्डारण क्षति, मदिराजन्य उत्पादन तथा पशुलाई आहार आदीका रुपमा प्रयोग र बाँकी ६ प्रतिशत अर्थात ५ हजार ९ सय ९० मेट्रिक टन वचत भइरहेको जिल्ला कृषि बिकास कार्यालय धनकुुटाका प्रमुख भरत प्रसाद बिडारी बताउँछन् ।
जिल्लाको कुल ३६ हजार ६ सय ५७ हेक्टर क्षेत्रफलमा खाद्यान्न वालीको खेति हुने गरेको छ । जसमध्ये सबैभन्दा वढी १८ हजार २ सय १२ हेक्टर क्षेत्रफलबाट ५४ हजार ३ सय ५६ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ ।
त्यस्तै ९ हजार २ सय ४५ हेक्टर क्षेत्रफलवाट ३० हजार ८ सय २० मेट्रिक टन धान, ७ हजार ८ सय हेक्टरवाट ८ हजार ३ सय ४६ मेट्रिक टन कोदो तथा १४ सय हेक्टर क्षेत्रफलवाट २ हजार ८ सय ९१ मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ ।
मौसमी तालमेत, प्रबिधि प्याकेजको प्रयोग, मलखाद उन्नत बिउ यान्त्रीकरण तथा कृषकको सक्रियताको कारण धनकुटा खाद्यान्न बचतको अबस्थामा पुगेको जिल्ला कृषि बिकास कार्यालयका बालि संरक्षण अधिकृत सुर्य प्रसाद सापकोटा बताउँछन् ।
धनकुटामा ४० हजार ७ सय २३ हेक्टर खेती योग्य जमिन भए पनि ९० प्रतिशत क्षेत्रफलमा मात्र खाद्य वालीको उत्पादन हुने गरेको छ ।
धनकुटाका लेगुवा, जीतपुर, तांखुवा, सान्ने, भीरगाउँ, घोर्लिखर्क, मारेककटहरे, पाख्रीवास, धनकुटा नगरपालिका, चुङवाङ, चानुवा र तमोर÷अरुण नदीको वेशी फाँटमा बढी मात्रामा खाद्यवालीको खेती र उत्पादन हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्