३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


बन्द अवज्ञा गरेको भन्दै ‘विप्लव’समूहका कार्यकर्ताद्वारा दुईवटा ट्रकमा आगजनी


0
Shares

सुर्खेत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकताले सुर्खेतमा २ वटा ट्रकमा आगजनी गरेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताले सुर्खेतको बड्डीचौर र सदरमुकाम वीरेन्द्रनगर नजिकै सत्तरीमा दुई वटा मालवाहक सवारीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नेपालगन्जबाट खाद्यान्न बोकेर सुर्खेत आउँदै गरेको ना. ६ ख ७३१३ नम्बरको ट्रकमा सत्तरीमा र ना. ६ ख १७३२ नम्बरको ट्रकमा बड्डीचौरमा आगजनी भएको हो ।

विद्यार्थीहरुको जिल्ला सम्मेलनमा सहभागी हुन आएका नेकपाका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्ववियु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बूढालाई गिरफ्तार गरिएको विरोधमा नेकपाले आज सुर्खेत जिल्ला बन्द आह्वान गरेको थियो ।

पक्राउ परेकाहरुलाई तत्काल रिहाइको माग गर्दै जिल्ला बन्द आह्वान गरिएको बताइएको छ ।

चन्द नेतृत्वको नेकपाले गराएको बन्द आह्वानले जिल्लामा सामान्य प्रभाव परेको र सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।