काठमाडौं, माघ ४ । अमेरिकाले तयार पारेको ‘इन्डो प्यासिफिक’ गठबन्धनमा नेपाल सहभागी हुन लागेको भन्दै पक्ष र विपक्षमा बहस भइरहेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो अमेरिका भ्रमणकाक्रममा त्यस्तो गठबन्धनकाबारेमा कुरामात्र उठेको दाबी गर्दै आएका छन् ।
संसदको शुक्रबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जापानी विदेशमन्त्रीको नेपाल भ्रमण पनि सोही विषयमा केन्द्रित रहेको दाबी गरे ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो अमेरिका भ्रमणलाई नेपालको कूटनीति सबल बनेका कारण अमेरिकाले नेपाललाई महत्व दिएको अर्थमा बुझ्नुपर्ने तर्क गर्दै आएका छन् ।
भ्रमणकाक्रममा नेपाललाई इन्डो प्यासिफिक गठबन्धनमा सामेल हुन आग्रह गरिएको कुरा पनि उनले अस्वीकार गर्दै आएका छन् ।
जबकि, अमेरिकी विदेश मन्त्रालयले ज्ञवालीको भ्रमणपछि जारी गरेको प्रेस विज्ञप्तिमा सो विषयलाई महत्वका साथ उल्लेख गरिएको थियो ।
यता, शुक्रबार संसदमा बोल्दै नेमकिपा सांसद प्रेम सुवालले नेपाल इन्डो प्यासिफिक रणनीतिमा नेपाल फस्दै गएकोमात्र बताएनन्, जापानका विदेशमन्त्री तारो कानोको नेपाल भ्रमणसमेत अमेरिकी रणनीतिअन्तर्गत् भएको दाबी गरे ।
विश्व शक्ति राष्ट्र बन्ने महात्वाकांक्षासहित अगाडि बढेको चीन र अमेरिकाबीच विविध टक्कर बढ्दो छ ।
यस क्षेत्रमा आफ्नो पकड कायमै राख्न अमेरिकाले अनेक ‘तुरुप’ खेल्दै आएको छ । यसैमध्येको एक हो, इन्डो प्यासिफिक गठबन्धनको रणनीति ।
अमेरिकादेखि भारतसम्म जोडिएको यो रणनीतिमा जापान, अष्ट्रेलिया पनि सामेल छन् ।
यही रणनीतिमा सामेल गराउने मुख्य एजेन्डासहित गत महिना अमेरिकाले परराष्ट्रमन्त्री ज्ञवालीलाई भ्रमणको निम्तो दिएको विश्लेषकहरु बताउँछन् ।
सन्चारमाध्यममा आएका समाचारलाई खन्डन गर्दै आएका परराष्ट्रमन्त्री ज्ञवालीले संसदमा उठेको विषयमा जवाफ त दिएका छैनन् तर संसदको रेकर्डमा आइसकेपछि सरकारले औपचारिक धारणा सार्वजनिक गर्नैपर्ने हुन्छ ।
सांसद सुवालले भनेजस्तै जापानका विदेशमन्त्री नेपाल भ्रमणमा आएको समयमा इन्डो प्यासिफिक क्षेत्रको राजधानी नेपाल बनाउने कुरा गरेको हो भने त्यो झन् गम्भीर छ ।
विश्वका उदीयमान शक्ति राष्ट्र चीन र भारतकोबीचमा रहेको तथा यी दुवै राष्ट्रका गतिविधिमा नजिकबाट नियालीरहेको अमेरिका र युरोपेली संघको चासो नेपालमा प्रस्टै बुझ्न सकिन्छ ।
आफैंमा कमजोर राष्ट्र नेपालले सुझबुझपूर्ण कूटनीति नअपनाए शक्ति राष्ट्रहरुको चंगुलमा फस्दै जाने र उनीहरुको खेलमैदान बन्नसक्ने सम्भावना टड्कारै छ ।









प्रतिक्रिया दिनुहोस्