Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


डा. केसीको मागमा लचिलो नहुने प्रधानमन्त्री ओलीको संकेत (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी, हिमाल पौडेल र दिलिप पोखरेल (इमेज)

काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएका छन् ।

गत पुस २२ गते प्रधानमन्त्रीले सम्बोधन गरेपछि प्रश्न राख्न नपाएको भन्दै नेपाली कांग्रेसका सांसदले सदन अवरुद्ध गरेका थिए ।

शुक्रबारको प्रश्नोत्तरमा सांसदहरुले प्रधानमन्त्रीलाई विदेशमा नेपालीले अर्बौं रुपैयाँ गैरकानुनी ढंगले राखेको विषय, अनशनरत् डा. गोविन्द केसीसँगको सम्झौतादेखि प्रधानमन्त्रीको आसन्न स्वीट्जरल्यान्ड भ्रमणबारे प्रश्न गरेका थिए ।

सरकारले अनशनरत् डा. गोविन्द केसीको मागप्रति लचिलो नहुने संकेत दिएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले कांग्र्रेस सांसद गगन थापाले राखेको जिज्ञासामा फेरिपनि संसदीय सर्वोच्चताको तर्क गर्दै सरकारी अडानबाट पछि नहट्ने संकेत दिए ।

सांसद थापाले ‘आफैंले गरेको सहमति तोड्न मिल्छ ?’ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले कानुनभन्दामाथि कोही नभएको भन्दै एक व्यक्तिका कारण सबै व्यक्तिको समान अधिकार हनन् गर्न नसकिने तर्क गरे ।

‘बहुमत छ भन्दैमा संसदको सर्वोच्चतालाई आफूले चुनौती दिन नसक्ने’ प्रधानमन्त्री ओलीको जवाफ थियो ।

कांग्रेसका अर्का सांसद डा. मीनेन्द्र रिजालले कांग्रेस नेताका नाममा सन्चालित अस्पताललाई विघटन गर्न खोजिएको भन्दै प्रश्न गरेका थिए ।

जवाफमा प्रधामन्त्री ओलीले यस विषयमा कांग्रेस नेताहरुसँग छलफल चलिरहेको जानकारी दिए ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीको आसन्न स्वीट्जरल्यान्ड भ्रमणकाबारेमा जिज्ञासा राखेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्डमा हुने विश्व आर्थिक मञ्चमा नेपालको सहभागिताले लगानी प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

सांसद अत्तरकुमाल मुसलमानले ‘सरकारले ५० अर्बभन्दा ठूला आयोजना विनाटेन्डर काम गर्न दिने निर्णयले कसरी आर्थिक सुशासन हुनसक्छ ?’ भन्दै प्रश्न सोधेका थिए भने अर्का सांसद प्रदीप यादवले ‘संविधान संशोधन कहिले हुन्छ ?’ ‘संघीयता कमजोर पार्ने प्रहरी विधेयक ल्याउनुको कारण के हो ?’ भनेर जिज्ञासा राखेका थिए ।

उता, अर्की सांसद चन्दा चौधरीले ‘मधेस आन्दोलनको छानबिनका लागि गठित गिरिशचन्द्रलाल नेतृत्वको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?’ भनेर प्रश्न सोधेकी थिइन् ।

बैठकमा १० जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए ।

भिडियो हेर्नुहोस्