काठमाडौं, माघ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सशस्त्र प्रहरी बलका बाहिनी तथा गणहरुको ऐतिहासिकस्थल तथा देवी–देवताका नाममा राखिएका नामहरु परिवर्तन गर्ने सरकारको निर्णय दुःखद् र दुर्भाग्यपूर्ण भएको जनाएको छ ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि निर्णय सार्वजनिक गर्दै राप्रपाले सरकारको उक्त निर्णय संर्कीण र पूर्वाग्रहपूर्णको उपज भएको जनाएको हो ।
सशस्त्र प्रहरी बलको प्रचलित नामको परिवर्तन केवल एउटा सामान्य घटनामात्रै नभइ हिन्दुत्व र हिन्दु मान्यताविरुद्ध भइरहेको षड्यन्त्रको नियमित शृंखला भएको पनि राप्रपाको ठहर रहेको छ ।
यसले कालान्तरमा सामाजिक, सांस्कृतिक सद्भावमा असर पार्ने, राष्ट्रिय एकतामा खलल पुर्याउने र संवेदनशील सुरक्षा निकायमा मतभेद उत्पन्न हुनसक्ने सम्भावना भएकाले निर्णय तत्काल फिर्ता लिन मागसमेत गरिएको छ ।
बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्नेक्रममा इमेज टेलिभिजनको सो जिज्ञासामा गृह प्रवक्ता रामकृष्ण सुवेदीले पुनःसंरचनाअन्तर्गत् सशस्त्रका बाहिनी, गण, गुल्महरुको नाम परिवर्तन गरी नम्बर दिएको र नेपाल प्रहरीमा भने निर्णय भइनसकेको जानकारी दिएका थिए ।
राप्रपा बैठकले विदेशी बैंकमा राखेको रकमको सम्बन्धमा राज्यले तत्काल छानबिन गर्नुपर्ने र शंकास्पद व्यक्ति वा संस्थाको बैंक खाता तत्काल रोक्का गर्नुपर्ने मागसमेत गरेको छ ।
बैठकले हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियानअन्तर्गत् माघ ७ र ८ गते देशव्यापी घरदैलो कार्यक्रम गर्ने र माघ १३, १४ र १५ गते सबै नगरपालिका र गाउँपालिकामा हिन्दुराष्ट्र पुनःस्थापना जनजागरण सभा गर्ने निर्णय गरेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्