Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


८०० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत


0
Shares

गत दुईसाताको अवधिमा कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहालगायतका खोलामा आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । बडिगाढ खोलामा आएको बाढीले सबैभन्दा धेरै धानसहितको खेतमा बढी क्षति पुर्‍याएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार मुसिकोट नगरपालिकाको राक्से, ढाँब, बौवा, गुल्मी दरबार गाउँपालिकाअन्तर्गत बलिथुम, रुरु गाउँपालिकाअन्तर्गत बम्घालगायतका स्थानमा ८२० रोपनीमा लगाएको धानसहितको खेत बाढीले बगाएको छ ।

बलिथुममा खेतसँगै सिंगो गाउँ जोड्ने मोटरबाटोसमेत खोलाले कटान गरेर लगेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा थप समस्या परेको छ ।

धान रोपेको सबै खेत बगाइदिएपछि बलिथुम माझी गाउँका बासिन्दालाई नजिकैको मजुवा बजारसम्म आवतजावतमा समस्या परेको छ । उनीहरु यतिबेला बजारसम्म पुग्नका लागि गाउँको घुमाउरो बाटो हिँड्न बाध्य छन् । बलिथुममा मात्र झण्डै ३० रोपनी खेत बडिगाढ खोलाले बगाइदिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीका अनुसार जिल्लाभर बाढी र पहिरोले ८२० रोपनीभन्दा बढी धानखेतमा क्षति पुर्‍याएको छ । पन्थीका अनुसार बडिगाढ, छल्दी र खज्र्याङ खोलाले धेरै क्षति पुर्‍याएको हुँदा कार्यालयबाट क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

वर्षाले कतिपय स्थानमा बिजुलीका पोल पहिरोले पुरिदिएका कारण टेलिफोन सम्पर्कमा समस्या परेकाले कृषिमा पुगेको क्षतिको विवरण संकलन गर्न ढिला भएको कार्यालयले जनाएको छ ।

वर्षाले सदरमुकाम जोड्ने रिडी–तम्घास सडकबाहेक अन्य अधिकांश सडकमा यातायात सन्चालन गर्न समस्या परेको गुल्मी यातायात व्यवसायी समितिका अध्यक्ष झकबहादुर मिदुनले बताए । यसपटक मुसिकोट नगरपालिकामा पहिरोमा परेर एक घर र एक गोठसहित केही बस्तुभाउ मरेपनि अन्य कुनै मानवीय क्षति नभएको प्रजिअ कृष्णप्रसाद ढुंगानाले जानकारी दिएका छन् ।

सदरमुकाम तम्घास नजिकै कुँडापानीमा पहिरोका कारण १६ घर जोखिममा परेका छन् भने कालीगण्डकी गाउँपालिकाअन्तर्गत अर्वेनीमा जमिन भासिएपछि १६ घर पूरै विस्थापित भएको वडाध्यक्ष देवी न्यौपानेले बताए । रासस