५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


नवलपुरमा बजेट सक्ने चटारो, विकासका काम दीर्घकालीन हुनेमा आशंका


0
Shares

-विवेक भण्डारी/ईमेज:

नवलपुर, असार १८ । आर्थिक वर्षको अन्त्य हुन केही दिनमात्रै बाँकी रहँदा नवलपुरमा बजेट सक्ने चटारो सुरु भएको छ ।

विनियोजित बजेट खर्च भइनसकेकाले जसरी पनि खर्च देखाउन विकासको रस्साकस्सी चलेको हो ।

आर्थिक वर्ष सकिनै लाग्दा नवलपुरमा विकासका गतिविधिमा सरकारी संयन्त्रलाई  भ्याइनभ्याइ छ ।

गत ११ महिनासम्म बजेट खर्च खासै नभएपनि विनियोजित बजेट कसरी सकाउने भन्नेमै सरकार केन्द्रित छ ।

गाउँपालिका र नगरपालिकाले असार मसान्तमा बजेट विनियोजन गर्नुपरेकोले स्थानीय सरकारलाई निकै हतार भइरहेको छ ।

अरु समय खासै सक्रिय नहुने जब समय घर्किन थाल्छ तब हतार हतारमा बजेट सक्ने प्रवृति पुरानै हो तर स्थानीय सरकार आएपछि त यस्तो संस्कारको अन्त्य होला भन्ने धेरैको आशा थियो परिणामतः अवस्था उस्तै देखियो ।

विशेष गरी सडक निर्माण र पुल निर्माणको कार्य प्राथमिकतामा परेको छ ।

विकास गर्नु त नराम्रो होइन तर यसरी हतारमा हड्बडाएर बिनातयारी र योजना गरिएको विकासले दीर्घकालीन प्रतिफल दिन्छ भन्ने धेरैलाई विश्वास छैन ।

त्यसो त जनप्रतिनिधि पनि असारे विकासका कार्यहरु टिकाउपूर्ण हुन्नन् भन्ने राम्रैसँग बुझेका छन् ।

असार मसान्तमा सबै बजेट सिध्याउनुपर्ने केन्द्रीय प्रावधानका कारण पहिलेका वर्षहरुमा जस्तै असारमा विकासका काम बढी हुने गरेको गैडाकोट नगरपालिका १५ का अध्यक्ष सन्तोष श्रेष्ठको भनाइ छ ।

असारमा  गर्ने कार्यलाई केही अगाडि नै सारेर कार्यहरु अनुसार असारमा गर्ने गरेको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज शेढाई बताउँछन् । 

उनका अनुसार  जेष्ठ मसान्त सम्म नगरपालिकाकाले ५७.६० प्रतिशत कार्य बराबरको विकास निर्माण भइसकेको छ ।

यसरी योजना र तयारीबिना गरिने देखावटी विकासले दीगो विकास अवरोध मात्र होइन असम्भव पनि छ ।

बजेट सक्नकै लागि गरिने मौसमी विकासभन्दा सदाबहार विकास गर्ने संस्कार स्थापित गर्न सके जनापेक्षाको पनि कदर हुने थियो ।