Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


एन्फाका मानार्थ अध्यक्ष टासी घले बर्खास्त, फुटबल प्रशिक्षकमा स्वीडेनका जोन


0
Shares

काठमाडौं, माघ ३ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले संघका मानार्थ अध्यक्ष टासी घलेलाई बर्खास्त गरेको छ ।

मानार्थ अध्यक्ष बनाइएपछि घलेले वर्तमान कार्यसमितिकोविरुद्धमा आवाज उठाउँदै गएपछि उनलाई अहिलेसम्म पुर्‍याएको सहयोगका लागि धन्यवाद भन्दै दिएको पद स–सम्मान फिर्ता लिने निर्णय गरिएको एन्फाले बिहीबार विज्ञप्ति जारी गरी जनाएको छ ।

बिहीबार बसेको एन्फाको केन्द्रीय कार्यसमिति बैठकले घलेलाई हटाएको हो ।

चार जिल्ला संघका अध्यक्षहरुबारे अनुशासन समितिले छानबिन गर्ने

बैठकले चित्त नबुझेको विषयमा संघमा छलफल तथा आफ्नो राय राख्न पाउने प्रावधान हुँदा–हुँदै पत्रकार सम्मेलन गरी अव्यावहारिक लान्छना लगाएको भन्दै चार जिल्ला फुटबल संघका अध्यक्षहरुबारे सचिवालयमार्फत् छानबिन गरी आवश्यकताअनुसार निर्णय लिन अनुशासन समितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरुले गत पुस ११ गते पत्रकार सम्मेलन गरी चुनावका बेलामा आर्थिक अनियमितता गरेको झल्किने अडियो टेप सार्वजनिक गरेका थिए ।

राष्ट्रिय टिमको प्रशिक्षकमा स्वीडेनका जोन कालेन

एन्फाले आगामी मार्चदेखि राष्ट्रिय टिमको प्रशिक्षणका लागि स्वीडेनका प्रशिक्षक जोन कालेनलाई मनोनयन गरी झिकाउने निर्णयसमेत गरेको छ ।

महिला राष्ट्रिय टिमका खेलाडीलाई जनही ५० हजार

बैठकले आसन्न महिला साफ च्याम्पियनसिप फुटबल आयोजनाका लागि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा ५०१ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरिने निर्णयसमेत गरेको छ ।

त्यस्तै, एन्फाले ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्न सफल महिला राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही ५० हजार तथा एएफसी महिला १९ वर्षमुनिको च्याम्पियनसिपको दोस्रो चरणमा पुगेको १९ वर्षमुनिको टोलीलाई जनही २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

एन्फा केन्द्रीय समितिले विभिन्न १४ निर्णयहरु गरेको छ ।