
सरुवा रोग नियन्त्रण महाशाखा काठमाडांैले परीक्षण किट नपठाउँदा बिरामी समस्यामा परेका हुन ।
सेती अञ्चल अस्पताल धनगढीमा उपचार गर्न आउने स्क्रब टाईफसका बिरामीले महँगो मुल्य तिरेर निजि मेडिकलमा परीक्षण गराउन बाध्य भएका हुन् ।
सेती अञ्चल अस्पतालमा यस बर्ष ३४ जना स्क्रब टाईफस बिरामी भेटिएकोमा एक जनाको मृत्यु भईसकेको छ ।
अञ्चल अस्पतालमा उपचार गराउन आउने मध्ये सबैभन्दा बढि कैलाली, कञ्चनपुर र बैतडीका बिरामी रहेको अस्पतालकी मेडिकल वार्ड ईन्चार्ज यशोदा ढकालले जानकारी दिनुभयो ।
ढकालका अनुसार उपचार गराउन आएका ३४ जना बिरामी मध्य हालसम्म १२ जनालाई आईसियूमा राखेर उपचार गरिएको छ ।
कैलालीलगायत सुदुरपश्चिममा बर्षेनी स्क्रब टाईफसका बिरामीहरु बढ्दै गएका छन । गत बर्ष भदौसम्म १६ जनामा स्क्रब टाईफस दखिएको भएपनि यसबर्ष सो संख्या बढेर दोब्बर पुगेको छ ।
मुख्यगरी एक प्रकारको संक्रमित किराले टोकेमा स्क्रब टाईफस रोग लाग्ने गर्दछ । यो किरा जुम्रा जस्तै तर सुक्ष्म हुन्छ जुन मुसाको कान अथवा यस्तै जीवजन्तुमा बस्छन ।
त्यसबाट घाँसपातमा झरेको बेलामा मानिस बस्दा यो किरा सर्ने र त्यसले टोकेमा रोग लाग्ने वरिष्ठ फिजिसियन डा.सुभेशराज कायस्त बताउँछन् ।
स्क्रब टाईफस परीक्षण सेति अन्चल अस्पतालमा निशुल्क हुने भएपनि बिरामीहरु १ हजार ५ सयभन्दा बढि तिरेर परीक्षण गराउन बाध्य छन ।
सरुवा रोग नियन्त्रण शाखा काठमाडौंसग पटक पटक किट माग गर्दा समेत ब्यवस्था नगरेको गुनासो सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरीटेडेट डा.सजन केसीको छ ।
स्क्रब टाईफस रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने लगायतका लक्षणहरु देखिने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्