३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


पर्वत बस दुर्घटनाः मृत्यु भएका सातैजनाको सनाखत, ९ को अवस्था गम्भीर


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका सातैजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा म्याग्दी जिल्लाको पाखापानीका २१ वर्षीय राजेश पुन, पर्वतको जलजला गाउँपालिकाका–७ का ५५ वर्षीया अमिसरा पुन र २२ वर्षीय जीवन विक, जलजला गाउँपालिका–८ का ५० वर्षीय टिके परियार र उनकी श्रीमती सेती परियार, चितवन, भरतपुर महानगरपालिका–८ का ४१ वर्षीय सुब्बे परियार र बागलुङ नगरपालिका–४, कुडुलेकी ४८ वर्षीया शान्ति केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

तीनजनाको घटनास्थलमै र चारजनाको धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा उपचारकाक्रममा मृत्यु भएको थियो ।

म्याग्दीको सदरमुकाम बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको यात्रीवाहक बस बिहीबार बिहान साढे ८ बजेतिर पर्वतको मालढुंगानजिकै दुर्घटना भएको हो ।

घाइते ३२ मध्ये ९ जनाको अवस्था गम्भीर

दुर्घटनामा घाइते भएका ३२ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि डाइनेस्टी एअरको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ ।

उनीहरुमध्ये सातजनाको छाउनी अस्पताल र दुईजनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अरु २२ जना घाइतेको पोखरामा र एकजनाको धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

‘साँघुरो बाटोमा तीव्रगतिका कारण दुर्घटना’

साँघुरो बाटोमा तीव्रगतिका कारण बस सडकबाट झन्डै २०० मिटर तल कालीगन्डकी नदीमा खसेको प्रहरीले जनाएको छ ।

म्याग्दीबाट १४ जना यात्री लिएर छुटेको बस आधा घन्टामै दुर्घटनामा परेको हो ।

बसमा सवार अरु यात्रुहरु भने पर्वतको जलजलाका विभिन्न स्थानबाट चढेका जनाइएको छ ।

दुर्घटना भएको आधा घन्टामै सबै घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।