बैतडी, माघ ३ । बैतडीमा १५ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा नहुँदा किसान समस्यामा परेका छन् ।
सिंचाइ सुविधा नभएका कारण धेरैजसो किसानले आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्ने गरेका छन्् । भिरालो जमिनमा ओसिलोपन नहुँदा लगाएको अन्नबाली सुक्ने भन्दै हिउँदयाममा किसानका खेतबारी बाँझै रहने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
हिउँदमा खडेरी पर्दा किसानहरु जमिन बाँझै छोड्न बाध्य भएका हुन् । सिंचाइ नभएका ठाउँमा खडेरीले प्रभाव पारेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।
जिल्लामा २५ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन भए पनि १० हजार हेक्टरमा मात्रै सिंचाइको सुविधा छ । खडेरीका कारण उत्पादनमा कमी आएपछि तराईबाट आयात हुने खाद्यान्नमा वृद्धि भएको छ ।
खडेरीले खेत बाँझै हुन थालेपछि विकल्पका रुपमा फलफूल खेती गर्न थालिएको छ । किसानहरुलाई फलफूलबाट आत्मनिर्भर बनाउने उद्देश्यले फलफूलका बिरुवा वितरण गर्ने कार्य शुरु गरिएको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्