गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल ६ लेन सडकको विषयमा आयोजित सार्वजनिक सुनुवाइ तथा समितिको बैठकमा मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई बोलाइएको भएपनि उनीहरु आउन अटेरी गरेका हुन् ।
संसदको सार्वजनिक लेखा समितिले भैरहवामा बोलाएको बैठक र सार्वजनिक सुनुवाइ कार्यक्रममा पर्यटनमन्त्री जीतेन्द्र देव र भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर अनुपस्थित भएका हुन् ।
मन्त्रीहरु नै अनुपस्थित भएपछि समितिका सदस्यहरु काठमाडौंमा पुगेर तत्काल अर्को बैठक राखेर स्पष्टीकरण लिनुपर्नेमा एकमत देखिएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाकोरुपमा रुपन्देहीमा सन्चालित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया–बुटवल सडकको स्थलगत अनुगमनपछि भैरहवामा आयोजित सार्वजनिक सुनुवाइ तथा समितिको बैठकमा दुवै मन्त्रीहरु जानकारीबिनै अनुपस्थित भएपछि सांसदहरु रुस्ट देखिएका हुन् । उनीहरुले मन्त्रीहरुले संसदकै अपमान गरेको आरोपसमेत लगाएका छन् ।
समितिका सदस्य तथा सांसद विष्णु पौडेलले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको निर्माणमा चरम ढिलाइ भएको कारणसहित लेखा समितिलाई स्वेतपत्र दिनुपर्ने बताए ।
उनले समितिले थालेको दुईओटा आयोजना निकै महत्वपूर्ण भएकाले यसको निर्माणकार्य पूरा नहुँदासम्म झक्झकाइरहनु पर्नेमा जोड दिए ।
समितिका आमन्त्रित सदस्य एवं सांसद बालकृष्ण खाँणले निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीसँग छलफल गरेरमात्रै समस्याको समाधान खोजिनुपर्ने बताए ।
समितिका सदस्य रामहरि खतिवडाले गौतमबुद्ध विमानस्थल काम गर्नेभन्दा पनि कारोबार गर्ने थलोकोरुपमा विकास भएकाले समस्या बढेको बताए ।
उनले यो विमानस्थल निर्माणमा ठेकेदार छनोटदेखि आयोजना निर्देशक छनोटसम्ममा कमजोरी देखिएको बताए ।
सांसद गोकर्ण बिष्टले आयोजना संकटमा फसेको र यसलाई पुनर्जीवन दिन छुट्टै समिति गठन गरेर अध्ययन गरी समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए ।
सांसद धनराज गुरुङले दुवै आयोजनामा ठूलो भ्रष्टाचार भएको हुनसक्ने भन्दै छानबिन गर्न माग गरे ।
समितिका अन्य सदस्यहरुले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल ६ लेन सडकको निमार्णमा भएको ढिलाइप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
उनीहरुले यी दुवै आयोजना गुणस्तरी नभएको निष्कर्षसमेत निकालेका छन् ।
गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कुनैपनि हालतमा उम्कन नदिने प्रतिबद्धता समितिले जनाएको छ ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्