Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


भूकम्पपीडितको राहत गोदाममा कुहियो


0
Shares

भूकम्पपीडितलाई वितरण गर्न जिल्ला ल्याएर लामो समयसम्म थन्काउँदा खाद्य सामग्री कुहिएको छ भने बन्दोबस्तीका सामग्री प्रयोग गर्न नमिल्ने भएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघको इलम प्रशिक्षण केन्द्रस्थित चिसो भुइँमा भन्डारण गरिएको चामल, दाल, बिस्कुटलगायतका खाद्यान्न म्याद गुज्रिएर खान अयोग्य भएर गन्हाउन थालेको उद्योग वाणिज्य संघका सदस्य सवीन राजभण्डारीले बताए ।

‘गोदाममा राखेको त्रिपाल, टेन्ट, कम्बललगायतका बन्दोबस्तीका सामग्री मुसाले खानेदेखि चिसोले मक्किएर काम नलाग्ने भएकोे छ’–राजभण्डारीले भने–‘भन्डारणमा रहेका सामग्री व्यवस्थापन गर्न प्रशासनलाई गरेको आग्रहमा चासो नै दिइएन ।’

खाद्यान्न तथा बन्दोबस्तीको सामग्री प्रयोगविहीन अवस्थामा पुगेको जानकारी पाएपनि नुवाकोट प्रशासन तथा जिल्ला दैवी प्रकोप उद्धार समितिले राख्ने स्थानको अभाव देखाउँदै बेवास्ता गरेको छ ।

भूकम्पपछि जिल्लाका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्य र बन्दोबस्तीका सामग्री वि.सं. २०७२ को जेठ पहिलो साता थन्काएदेखि अहिलेसम्म अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको हो ।

भन्डारणमा रहेका सामग्रीमध्ये खाद्यान्नको म्याद सकिएको र गैरखाद्य छनोट गर्ने तयारीमा लागेको प्रजिअ जगदीशराज बरालले बताए ।

भूकम्पपछि राहत वितरण गर्न सामाजिक संस्थाले सबै स्थानको जिम्मा लिएपछि सरकारी राहत थन्काइएको थियो ।

भन्डारण गरिएको राहतको विवरण नभएकाले कति मूल्य बराबरको यकिन नभएपनि करिब रु एक करोड भएको हुनसक्ने अनुमान गरिएको छ । रासस