३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


भूकम्प मापन केन्द्रप्रति सरकारको बेवास्ता, अनुसन्धानका काम ठप्प (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज)

काठमाडौं, माघ २ । २०७२ सालको विनाशकारी भूकम्पपछि धेरैको ध्यान खिचेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र पुनः ओझेलमा परेको छ ।

भूकम्प मापन केन्द्रको विकासमा सरकारले कुनै चासो दिएको छैन ।

इस्वी संवत् १९७८ सालमा ललितपुरको फूलचोकीबाट सुरु गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपाल र आसपासका भू–भागमा हुने भूकम्पीय धक्काको मापन गर्ने र भूकम्पको केन्द्र किटान गर्ने गर्दछ ।

२०७२ सालको भूकम्पपछि एकाएक चर्चामा आएको यस केन्द्रलाई सबै हिसाबले सुविधासम्पन्न बनाउनुपर्ने आवाज उठेको थियो ।

सरोकारवाला सबै निकायहरुले पनि भूकम्प मापन केन्द्रलाई अनुसन्धान केन्द्रकारुपमा विकास गर्ने बताएका थिए ।

तर, बितेका तीन वर्षमा ती प्रतिबद्धताहरु कुनैपनि कार्यान्वयनमा आएको पाइँदैन ।

सरकारको तर्फबाट पहिलेझैं नियमित बजेटबाहेक कुनै बजेट थप नभएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

देशभर अहिले २१ ओटा भूकम्प मापन स्टेसन रहेका छन् । ०७२ सालको भूकम्पपछि चीन सरकारले १०, जापान सरकारले ८ र संयुक्त राष्ट्रसंघको सहयोगमा दुईओटा भूकम्प मापन स्टेसन थप गरिएको छ । यस केन्द्रमा हाल ८ जनामात्र कर्मचारी कार्यरत् छन् ।

दक्ष जनशक्तिको अभावमा केन्द्रले सन २०१६ पछि कुनैपनि अनुसन्धानका काम गरेको छैन ।

भूकम्पसम्बन्धी सूचना दिन केन्द्रमा २४ सै घन्टा कर्मचारी बस्नुपर्नेमा कर्मचारी अभावका कारण कार्यालय समयभन्दाबाहेक कर्मचारी बस्दैनन् ।

केन्द्रका प्रमुख अधिकारीले काम पनि धेरै नहुने भएकाले घरबाटै काम हुने गरेको बताए ।

भिडियो हेर्नुहोस्