गत वर्षको बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्ने गरी बजेट विनियोजन गरेको थियो ।
सोही अनुसार गत मंसिरमा विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारिएको थियो । सोही डिपीआर अनुसार विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्न ठेक्का आह्वान गरेर स्तरोन्नतिको काम शुरु गरिएको हो ।
करिब १३ करोडको लागतमा ५८० मिटर लम्बाई २० मिटर चौडाई क्षेत्रफलमा कालोपत्रे गरिने नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले जानकारी दिए ।
यस विमानस्थलमा टुईनेटर विमान अवतरण गर्ने सक्ने र दुई विमान पार्किंग गर्न सकिने उनले बताए ।

गाल्वा च्याङमिला जगदम्बा जेभी निर्माण कम्पनीले विमानस्थललाई कालोपत्रेका साथै घेरबार गर्ने जिम्मेवारी पाएको कम्पनीका प्रतिनिधि दानसिंह रावलले जानकारी दिए । उनले भने, ‘अहिले कटिङको काम भइरहेको छ, यसपछि फिलिङ गरेर विमानस्थललाई कालोपत्रे गरिनेछ ।’
लगातारको बर्षाका कारण स्तरोन्नतिको काम २ महिना ढिला भएको छ । समयमै सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको कम्पनीका प्राविधिक पुरनदेव रावलले जानकारी दिए ।
लामो समयदेखि बन्द रहेको विमानस्थल सुचारु गर्ने हिसाबले काम शुरु भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । बन्द रहेको विमानस्थल सञ्चालनका लागि काम शुरु भएपछि आफूहरु खुशी भएको स्थानीय उत्तम भण्डारीले बताए । विमानस्थल सञ्चालनमा आए यस क्षेत्रको विकासले फड्को मार्ने उनको भनाइ छ ।
पाटन विमानस्थल सञ्चालनमा आए यो क्षेत्रमा पर्यटकको आगमन हुने स्थानीय लवदेव जोशीले बताए । पाटन देशका १० नमूना शहरमध्ये एक हो । ‘७ नम्बर प्रदेश पर्यटन सम्भावना बोकेको क्षेत्र हो,’ उनले भने । पाटन विमानस्थल सञ्चालनमा आए भारतको उत्तराखण्डबाट नेपाल आउने पर्यटक बैतडी भएर आउने उनको भनाइ छ ।
पाटन विमानस्थल सुचारु भएमा पत्तालभूमेश्वर लगायत बैतडीका धार्मिक पर्यटकीय क्षेत्र, दार्चुलाको अपी हिमाल, बझाङको सैपाल हिमाल र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकहरु भित्र्याउन सजिलो हुने विश्वास लिइएको छ । यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गतको पाटन नमूना शहर भएकाले पनि विमानस्थल सुचारु हुनुपर्ने धेरैको भनाइ छ ।
वि. सं. २०६९ सालमा तत्कालिन पर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र बिष्ट मगरले पनि विमानस्थल सुचारु गर्ने प्रतिबद्धता जनाएका थिए । तर त्यो प्रतिबद्धता कार्यान्वयनमा आउन सकेको थिएन ।
२०७२ सालमा तत्कालीन अर्थराज्यमन्त्री दामोदर भण्डारीको पहलमा गतसालको बजेट भाषणमा पाटन विमानस्थलका लागि बजेट छुट्याइएपछि स्तरोन्नतिको काम शुरु भएको हो ।









प्रतिक्रिया दिनुहोस्