ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्य दूतावासले आइतबार आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तरक्रियामा परराष्ट्रमन्त्रीले भने–‘दुई देशबीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास र अन्तरदेशीय आर्थिक क्षेत्रमा लगानीकेन्द्रित गरेको छ । अन्तरदेशीय रेलमार्ग, सडकमार्ग, ट्रान्समिसनलाइन र हवाईमार्गमा लगानीका लागि उयुक्त अवसर छ ।’
नेपाल र चीनबीच ‘एक क्षेत्र एक मार्ग’मा सम्झौता भइसकेको उल्लेख गर्दै उनले त्यसलाई दुवै देशले सही तवरले प्रयोग गर्नुपर्ने बताएको उनका प्रेस संयोजक हरि लामिछाने जानकारी दिए ।
परराष्ट्रमन्त्री महराले उपयुक्त प्रविधिसहित नेपालले विकासका क्षेत्रमा दूरगामीरुपमा सहकार्य गरेर जान चाहेको स्पस्ट पारे ।
जलविद्युत्, पर्यटन, पूर्वाधार, कृषि, उत्पादन उद्योग, दूरसन्चार, सूचना–प्रविधि तथा सेवा क्षेत्रमा पनि लगानीका लागि उपयुक्त अवसर रहेकाले यस क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा लिन सकिने जानकारी उनले दिए ।
चिनियाँ पर्यटनका लागि नेपालले राम्रो अवसर प्रदान गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री महराले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत विश्व चर्चित नेपालका विभिन्नस्थलको अवलोकन गर्न आग्रहसमेत गरे ।
नेपालमा वैदेशिक लगानी भित्र्याएर आफ्नो चीनसँग रहेको व्यापार घाटा कम गर्न नेपालले चाहेको उल्लेख गर्दै उनले यस अवसरलाई सदुपयोग गर्न आग्रहसमेत गरे ।
चिनियाँ व्यापारीका लागि नेपालमा लगानी गर्न नेपाली महावाणिज्य दूतावास माध्यम भएको बताउँदै उनले एक हजारभन्दा बढी नेपाली रहेको ग्वाङन्दोङ प्रान्तमा नेपाली वाणिज्य दूतावासको स्थापनासँगै नेपाली व्यापारी, विद्यार्थी तथा अन्य नेपालीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
चीनसँगको कुल व्यापारमध्ये ६० प्रतिशत ग्वाङन्दोङ प्रान्तबीच रहेको बताइएको छ ।
परराष्ट्रमन्त्री महराले व्यापार, यातायात र शिक्षाका लागि विश्वकै केन्द्र बन्दै गएको ग्वाङन्दोङ प्रान्तसँगको व्यापार विस्तारमा यहाँस्थित जनताको आर्थिक तथा व्यापारमा सहभागिताले निर्धारण गर्ने उल्लेख गरे ।
अन्तरक्रियामा सहभागी व्यापारी तथा लगानीकर्ताका प्रश्नको जवाफमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि हुँदै गएकाले पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
अन्तरक्रियामा चिनियाँ तथा नेपाली गरी १०० जना व्यापारी तथा लगानीकर्ता सहभागी भएको यहाँस्थित महावाणिज्यदूत रवि भट्टराईले जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्