१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


मिसाइल वैज्ञानिकहरुसँग किमको रात्रिभोज, थप क्षेप्यास्त्र विकास गर्न निर्देशन


0
Shares

उनले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नुपर्नेमा जोड दिएका हुन् । उत्तर कोरियाली सन्चारमाध्यमहरुले आइतबार सो जानकारी दिएका छन् ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले गत हप्तामात्र एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम मिश्रित रहेको पुष्टि पनि भएको छ ।

उत्तर कोरियाली नेताले उक्त हाइड्रोजन बमको परीक्षणका अन्वेषक र यसमा संलग्न मिसाइल वैज्ञानिकहरुसँग शनिबार राति रात्रिभोज गरेको समाचारमा जनाइएको छ ।

उनले ती वैज्ञानिकहरुलाई विशेष धन्यवाद पनि ज्ञापन गरेको उत्तर कोरियाली सरकारी सन्चारमाध्यमहरुले जानकारी दिएको पछिल्लो समाचारमा जनाइएको छ ।

उक्त रात्रिभोजसँगै उनले मिसाइल वैज्ञानिकहरुलाई आगामी दिनमा थप हतियारको विकासका लागि पनि निर्देशन दिएका थिए । उनले अझै शक्तिशाली हतियार र क्षेप्यास्त्र निर्माणका लागि निर्देशन दिएको समाचारमा उल्लेख गरिएको छ ।

उता, उत्तरले गरेको हाइड्रोजन बम परीक्षणको समाचारलाई संसारका समाचार समितिहरुले एक विश्व समाचारकैरुपमा सम्प्रेषण गरिरहेका छन् ।

ती समाचारहरुमा यो घटनाबाट संसारमा खतरा पैदा भएकोमात्र नभइ आणविक शस्त्रको होड बढाउने त्रासकारुपमा पनि टिप्पणी गरिएको छ ।

उत्तर कोरियाका सरकारी सन्चारमाध्यमहरुले उत्तर कोरियाले गरेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ ।

पहिलेकोभन्दा यस परीक्षण धेरै शक्तिशाली रहेकाकले पनि विश्वमा उत्तर कोरियाको परीक्षणले तनाव उत्पन्न गरेको बताइन्छ ।

उत्तर कोरियाले यसअघि गरेको पाँचौपटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली रहेको टिप्पणीहरु गरिएको छ ।

महासचिव गुटरेशको चिन्ता
यसैबीच, संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेशले उक्त आणविक परीक्षणको घटनाले आफूलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् ।

उनले एक अन्तर्वार्तामा भनेका छन्–‘यसरी आणविक परीक्षण र त्यसमा पनि हाइड्रोजन बम नै हान्नु अत्यन्तै चिन्तापूर्ण अवस्था हो, विश्व शान्तिका क्षेत्रमा यो पछिल्ला वर्षहरुको एक सबैभन्दा नराम्रो घटना हो ।’

एक फ्रान्सेली पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा एकता हुनपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्–‘यो हतियारको प्रदर्शन हो र यसले संसारमा कहीँ पनि र कसैलाई पनि फाइदा गर्दैन, अबका दिनमा उत्तर कोरियालाई नाकाबन्दी लगाउने वा कारबाही गर्ने विषयमा सबै मिलेर सर्वसम्मत् निर्णय नै गर्नुपर्छ ।’

उत्तर कोरियामाथि नाकाबन्दी र कारबाही गर्न संयुक्त राष्ट्रसंघमा अमेरिकाले नयाँ प्रस्ताव ल्याएको छ ।

तर, त्यस प्रस्तावमा सहमति हुन सकिरहेको छैन । यसै पृष्ठभूमिमा उनको यो टिप्पणी आएको हो । रासस/एएफपी