३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


कानुनले माग्न निषेध गरेपनि राजधानीमा घटेन मगन्तेहरुको संख्या


0
Shares

प्रतीक्षा खनाल (इमेज)

काठमाडौं, माघ १ । काठमाडौंका मुख्य क्षेत्रहरुमै मगन्तेहरुको कमी छैन ।

प्रसिद्ध धार्मिकस्थलदेखि निकै भीडभाड हुने क्षेत्रहरुमासमेत माग्न बस्नेहरु प्रशस्तै भेटिन्छन् ।

गत भदौमा जारी गरिएको मुलुकी संहिताले माग्न निषेध गरेपनि मगन्तेहरुको संख्यामा कमी आएको छैन ।

पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरेको महिनौं बितिसकेको छ । तर, पशुपति क्षेत्रमा माग्नेहरु यत्रतत्र देख्न सकिन्छ ।

हरेक उमेर समूहका मानिसहरु माग्दै गरेको दृश्य मन्दिर तथा सडक वरपर दैनिकजसो देख्न पाइन्छ । माग्न बस्नेहरुका पनि आफ्नैखाले समस्या र गुनासो रहने गरेको छ ।

स–साना आवश्यकता पूरा गर्नका लागि सडकमा माग्न बसेको एकजना वृद्धा बताउँछिन् । वृद्धाश्रममा बसिरहेको बताउने यी वृद्धा सामान्य खर्च जुटाउनकै लागि माग्ने गरेको बताउँछिन् ।

मुलुकी अपराध संहितामा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा एक हजार जरिवाना लाग्नेछ भने दोस्रो पटकदेखि प्रत्येकपटक दुई महिनासम्म कैद वा दुई हजार जरिवाना गर्ने ऐनमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही समयअघि आफ्नो कार्यकालभित्रै महानगरलाई मगन्तेरहित बनाउने उद्घोष पनि गरेका थिए ।

पर्यटकीयस्थलदेखि मुख्य–मुख्य व्यापारिक क्षेत्रहरु र धार्मिकस्थलहरुमासमेत मगन्तेहरुको संख्या नियन्त्रण नहुँदा त्यसले व्यावहारिक अप्ठ्यारोमात्रै पार्दैन, देशको छविमासमेत नकारात्मक असर गर्दछ भन्नेतर्फ ध्यान जानु जरुरी छ ।