
काठमाडौं, माघ १ । इमेज च्यानलले माघ १ गते मंगलबारदेखि प्रसारणको २२ वर्ष पूरा गरेको छ ।
२२औं वर्ष पूरा गरेको अवसरमा इमेज कम्प्लेक्स पानीपोखरीमा आयोजित कार्यक्रममा इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आरके मानन्धरले सबैमा शुभकामना व्यक्त गरे ।
उनले सबैको साथ र सहयोगले इमेज च्यानल अगाडि बढिरहेको भन्दै आगामी दिनमा पनि यो साथ कायमै रहने विश्वास व्यक्त गरे ।
अध्यक्ष मानन्धरले आगामी नयाँ वर्षबाट एचडी प्रविधिका साथ आउने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।
इमेज च्यानल पहिलोपटक २०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट दर्शकमाझ पुगेको थियो ।
प्रसारणको पाँच वर्षपछि २०५९ साल माघ १७ गतेदेखि इमेज च्यानलले काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेस्टेरियल माध्यमबाट इमेज मेट्रो च्यानल प्रसारण सुरु गर्यो ।
त्यसको चार वर्षपछि लोकतन्त्रको बिहानीसँगै २०६३ माघ ११ गतेदेखि इमेज च्यानलले स्याटेलाइटमार्फत् आफ्नो प्रसारणलाई विश्वभर जोड्यो ।
विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरन्जनको मूल नारासहित अहिले इमेज च्यानलले साताको सातै दिन चौबीसै घन्टा देशभरमात्र नभइ विश्वका ७२ भन्दा बढी राष्ट्रमा आफ्नो प्रसारणलाई निरन्तरता दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्