काठमाडौं, माघ १ । काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले सोमबारदेखि आयोगले प्रारम्भिक छानबिन सुरु गरेको जानकारी दिए ।
उजुरी परेपछि त्यसमा छानबिन गर्नु आयोगको कर्तव्य भएको बताउँदै उनले त्यसबारे युवा तथा खेलकुद मन्त्रालयमा छानबिन गर्न पत्र पठाइएको जानकारी दिए ।
‘हामी छानबिनको प्रारम्भिक चरणमा छौं । अहिले नै भ्रष्टाचार भयो भनेर भन्न मिल्दैन । छानबिनपछि सबै कुरा बाहिर आउँछ’–प्रवक्ता कोइरालाले भने ।
गत वैशाखमा भएको एन्फाको नयाँ नेतृत्व चयनको निर्वाचनकाक्रममा आर्थिक अनियमितता भएकोलगायत विभिन्न आरोप लगाउँदै आएका चार जिल्ला फुटबल संघले केही दिनअघि अख्तियारमा उजुरी दिएका थिए ।
उजरी परेलगत्तै अख्तियारले मन्त्रालयलाई पत्र पठाउँदै १० दिनभित्र एन्फाबारे सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ ।
गत पुस १७ गते फुटबल संघ काठमाडौंका अध्यक्ष विराटजंग शाही, ललितपुर अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गरेका थिए ।
आरोप पुष्टि गर्न चेतावनी
यसैबीच, एन्फाले वर्तमान नेतृत्वमाथि शृंखलाबद्ध आरोपहरू आउन थालेकामा चिन्ता व्यक्त गर्दै आरोप पुष्टि गर्न चेतावनी दिएको छ ।
एन्फा प्रवक्ता किरण राईले रासससँग भने–‘आरोप लगाएरमात्र हुँदैन, प्रमाणित गर्नुपर्छ । आरोप प्रमाणित भए कारबाही भोग्न तयार छौं । अन्यथा जिल्ला फुटबल संघहरूमाथि नै कारबाही हुन्छ ।’
एन्फाले आफूमाथि लागेको आरोपसहित विभिन्न १० एजेन्डामा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही माघ ३ गते बोलाएको छ ।
कार्यसमिति बैठकमा विराटनगरमा आगामी फागुनमा आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसिप, महिला टोलीको पुरस्कार, मोफसलमा हुने फुटबल प्रतियोगिताको वर्गीकरणलगायत विषयमा छलफल हुने प्रवक्ता राईले बताए । रासस








प्रतिक्रिया दिनुहोस्