सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढीबजारमा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले संघीयता, समावेशीता, धर्मनिरपेक्षता माओवादीको ठूलो त्याग र बलिदानीबाटमात्र प्राप्त भएको र त्यसलाई संस्थागत माओवादीलेमात्र गर्नसक्ने दाबी गरे ।
संघीयताविरोधी, समावेशीताविरोधी र धर्मनिरपेक्षताविरोधी पार्टीलाई मत दिएर ठूलो बनाए नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धि उल्टिने र पुनः २०४६/४७ सालको अवस्थामा मुलुक फर्कने खतरा रहेकोसमेत उनले बताए ।
पूर्वप्रधानमन्त्री दाहालले भने–‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता ल्याउने परिवर्तनकारी शक्ति माओवादीलाई मत दिने कि संघीयताविरोधी, समावेशीताविरोधी पार्टीलाई मत दिने हो, त्यसको साँचो अहिले मधेसी जनताको हातमा आएको छ । त्यसैले यो अवसरलाई सही ढंगबाट सदुपयोग गर्नुहोला ।’
मधेसको सच्चा हिमायती आफ्नो पार्टीमात्र रहेको दाबी गर्दै अध्यक्ष दाहालले माओवादीप्रति आकर्षण बढेकै कारण ठूलो संख्यामा मधेसी नेता आफ्नो पार्टीमा प्रवेश गरिरहेको उल्लेख गरे ।
आफू १० महिना प्रधानमन्त्री रहेका बेला मधेसलाई विश्वासमा लिन र त्यहाँका जायज माग सम्बोधन गर्न धेरै मिहिनेत गरेको बताउँदै उनले मधेसी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेसी दलको असन्तुष्टि सम्बोधन गर्न र निर्वाचनमा ल्याउन आफूले ठूलो भूमिका निर्वाह गरेको दाबीसमेत गरे ।
तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको पनि अध्यक्ष दाहालले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धनगढीमाई नगरपालिका प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरी र उपप्रमुखका उम्मेवार फूलकुमारी श्रेष्ठले आफूहरुले चुनाव जिते नगरपािलकालाई सुन्दर, सफा र पर्यटकीय नगरीकारुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि, अध्यक्ष दाहालले सिरहाको लहानमा आयोजित सभालाईसमेत सम्बोधन गरेका थिए ।
बुधबारै अध्यक्ष दाहालले सिरहाको गोलबजार, मिर्चैयालगायतका स्थानमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस





प्रतिक्रिया दिनुहोस्