Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कांग्रेसले जित्दा मधेसको मुद्दा सम्बोधन हुन्छ : प्रधानमन्त्री


0
Shares

जनकपुरधाममा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले ‘कांग्रेस पार्टी मधेसी जनताको भावनाको कदर र मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन चाहन्छ’–भने ।

प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेसी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको बताउँदै कांग्रेसले जितेमात्रै मधेसको मुद्दाको सम्बोधन हुने दाबी गरे ।

मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको उनले उल्लेख गरे । नेपालीमाझ एकापसमा सौहार्दता बनाइराख्न कांग्रेसलाई अग्रस्थान दिलाउन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले आफू भारत भ्रमणमा जाँदा भारतद्वारा निर्माण गरिएका बाँधका कारण मधेसमा बाढी र डुबानको समस्या हुने गरेको विषयमा ध्यानाकर्षण गराएको स्मरण गराउँदै मधेसमा बाढी र डुबानको समस्या सदाका लागि अन्त्य हुने किसिमले प्राधिकरण बनाउने पहल भइरहेको जानकारी दिए ।

जनकपुरको विकासका सन्दर्भमा भारतीय पक्ष जटही नाका खोल्न राजी भएको पनि उनले बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको राजनीति अन्त्य हुनु जरूरी भएको बताए ।

महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले ‘मधेस र नेपाली कांग्रेस पर्याय भएकाले मधेसमा कांगे्रसलाई पहिलो दल बनाउन आवश्यक छ’–भने ।

पूर्वमहामन्त्रीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले कतिपय दलले पूर्वराजासँग साँठगाँठ गरी संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको बताए ।

नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवको अध्यक्षतामा भएको सो सभामा केन्द्रीय सदस्य बालकृष्ण खाँण, आनन्दप्रसाद ढुंगाना, प्रदीप गिरि, महेन्द्र यादव, रामकृष्ण यादव, सांसदहरू लीला कोइराला, चन्द्रमोहन यादव र प्रेमकिशोर साहले पनि सम्बोधन गरेका थिए । रासस