३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


नेपालगञ्ज नाकामा चेकजाँच चौकी निर्माण हुने, भारतीय गृहमन्त्रीले गरे शिलान्यास


0
Shares

नेपालगञ्ज । बाँकेको नेपालगन्ज नाकाका लागि अत्यन्तै महत्वपूर्ण मानिएको भारतसँगको सीमावर्ती क्षेत्रमा एकीकृत सुरक्षा चेकजाँच चौकी निर्माण हुने भएको छ ।

चौकीको शिलान्यास भारतीय गृहमन्त्री राजनाथ सिंहले गरे । झन्डै डेढ दशकदेखि वीरगन्ज र नेपालगन्जमा सुख्खा बन्दरगाहका रुपमा आइसीपी निर्माणको कुरा चल्दै आए पनि नेपालगन्जमा भने काम सुरु हुन सकेको थिएन ।

वीरगन्जमा केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आइसीपी उद्घाटन गरेसँगै सुख्खा बन्दरगाह सञ्चालनमा आइसकेको छ ।

नेपालगन्जको सीमावर्ती क्षेत्रमा निर्माण गर्न लागिएको आइसीपीको शिलान्यास गरिएसँगै अब यहाँ पनि तीव्र गतिमा काम हुने अपेक्षा गरिएको छ ।

पौने तीन करोड भारतीय रुपैयाँको लागतमा जमिन सम्याउने र तारबार लगाउने काम पूरा भएपछि औपचारिक कामको शुभारम्भ भारतीय गृहमन्त्री सिंहले गरेका हुन् ।

५५ हेक्टर क्षेत्रफलको सुख्खा बन्दरगाहभित्र ६ लेनको अत्याधुनिक सडकदेखि आयात निर्यातका लागि सबै सुविधा उपलब्ध हुनेछन् ।

भारततर्फको निर्माण सुरु भए लगत्तै नेपालतर्फ पनि आइसीपीको काम सुरु हुने विश्वास गरिएको छ ।