१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


बंगलादेश पुगेका रोहिंग्यालाई स्वदेश फर्कन म्यानमार सरकारको आग्रह


0
Shares

म्यानमार सरकारलाई उद्धृत गर्दैे सरकारी पत्रिका ‘ग्लोबल न्यु लाइट’ले दिएको जानकारीअुनसार हालैको विद्रोहका कारण विस्थापित भएर बसेका ती नागरिक घर फर्किन थालेका हुन् ।

उक्त पत्रिकाका अनुसार ४ हजार २२० जना रोहिंग्या समुदायका नागरिक आ–आफ्नो घर फर्किएका हुन् । उनीहरुलाई घर फर्किनलाई म्यानमारका सुरक्षार्कीहरुले सहयोग गरेका जनाइएको छ ।

सरकारी सुरक्षाकर्मीले नै सुरक्षा दिएर उनीहरुलाई विभिन्न गाँउबाट आफ्नो घर फर्काएको सो पत्रिकाले बिहीबारको संस्करणमा जनाएको छ ।

राखिन राज्यमा रोहिंग्या मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण करिब ३० हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् । विस्थापित यी व्यक्तिहरू पहाडी इलाकाका पाँच भन्दा बढी गाउँमा पुगेका बताइएको छ ।

प्राप्त समाचारअनुसार उनीहरुलाई ती विस्थापित भएका स्थानमा पनि खाद्य पदार्थ, पानी, आवास र औषधि उपचारसमेत उपलब्ध नरहेको पाइएको छ । उनीहरुको अवस्था दयनीय रहेको समाचार यसअघि नै आएको थियो ।

गएको अगष्ट २५ तारिखदेखि उक्त राज्यमा रोहिंग्या मुस्लिम समुदायको विद्रोही समूह र म्यानमारको सेनाबीचमा झडप सुरु भएको थियो । त्यसयता विवाद चर्किँदै गएको छ ।

सो विवादका कारण रोहिंग्याले देशसमेत छोडेका छन् । जसका कारण म्यानमारमा ठूलो राजनीतिक तनाव पनि सुरु भएको छ । यसै कारण सरकारको विश्वव्यापी रुपमा आलोचना पनि भएको छ ।

अहिलेसम्म राखिन राज्यबाट भागेर बंगलादेशसम्म पुग्ने नागरिकको संख्या कम्तीमा पनि तीनलाख पुगेको छ । उनीहरुलाई बंगलादेशमा पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ ।

यसरी सेनाले गाउँलेमाथि नै आक्रमण गर्न थालेपछि म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेशसम्म पुगेका हुन् ।

उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पारगर्ने क्रममा ज्यान पनि जाने गरेको छ । त्यस समयदेखि आजसम्ममा ती समुदायका कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

ती मध्ये कतिपय सो नदीले बगाएकोले शव पनि भेटिएको छैन । ज्यान जानेमा कैयौँको संख्यामा बालबालिका पनि रहेका छन् । तर, संख्या भने स्पष्ट छैन ।

उता म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ ।

म्यानमार सरकारले यसरी विस्थापित भएर बंगलादेश पुगेका नागरिकलाई पनि स्वदेश फर्किन आग्रह गरेको छ । म्यानमार सरकारले हल्लाको पछि नलाग्न र आफ्नो देश फर्किन बंगलादेश पुगेका आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

आङ सान सुकीको आलोचना

उता प्राप्त पछिल्लो समाचारअनुसार म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने म्यानमार सरकारले जनाएको छ । उनले उक्त सभामा आफ्नो उपस्थिति रद्द गरेकी म्यानमार सरकारले बुधबार नै जनाएको थियो ।

म्यानमारमा देखिएको स्थानीय रोहिंग्या समुदायका नागरिकसम्बन्धी यही विवादका कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएकोले उनले उक्त भ्रमण नै रद्द गरेकी बताइएको छ ।

तर, उनको यस कदमको विश्व समुदायले भने आलोचना गरेको छ । विश्व समुदायले सुकीले राखिनको बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने भएकोले यसबाट पन्छिन खोजेको आरोप अधिकारवादीहरुले लगाएका छन् ।

उनीजस्तो प्रजातन्त्रवादी नेता एवम् नोवेल पुरस्कार विजेता व्यक्ति मुलुकको राज्यसत्तामा हुँदा नागरिक यसरी देशबाटै लखेटिनुपर्ने अवस्था आउनु दुःखद हो भन्दै उनको आलोचना गरिएको छ ।

कतिपयले त उनले प्राप्त गरेको शान्तिका लागि नोवेल पुरस्कार नै फिर्ता गर्नुपर्ने माग पनि राखेका छन् । रासस/सिन्ह्वा